`

बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छः प्रधानमन्त्री

Nepal One HD ६ फागुन २०८० १२:३५
प्रमुख खबर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाका दोषीमाथि कारबाही हुने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्रीले जाँचबुझ आयोगले दिएको प्रतिवदन अध्ययनपछि सम्बन्धित व्यक्तिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले भने,  ‘मेरै प्रस्तावमा छानबिन समिति बनेको हो। छानबिन समितिले प्रतिवेदन दिएको छ । तर मैले हेर्न पाएको छैन । आजै मैले प्रतिवेदन बुझ्दै छु र क्याबिनेट पनि आजै छ । अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ ।’

बैठकमा विपक्षी दलका सांसदहरुले घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गरेपछि प्रधानमन्त्रीले यस्तो बताएका हुन् । उनले बालकुमारी घटनामा सरकारले लिएको पहलबारे गलत बुझाइ भएको आफूले पाएको बताए ।

प्रधानमन्त्रीले मृतकका परिवारलाई १० लाख दिनेमात्रै नभई सरकारले गम्भीरता देखाउँदै छानबिन आयोग बनाएको बताए । यस्तै मृतकका एक जना परिवारलाई रोजगारीको व्यवस्था गरिनुका साथै श्रम मन्त्रालयमार्फत थप आर्थिक सहयोगको पहल भइरहेको पनि बताए ।


प्रतिक्रिया