`

इतिहासकै कमजोर अवस्थामा राप्रपा, चुनावमा उम्मेदवार पाउनै मुस्किल!

Nepal One HD १२ कार्तिक २०८३ १५:००
बिशेष

काठमाडौं । राजसंस्था र हिन्दू राष्ट्रको एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आफ्नै इतिहासकै कमजोर अवस्थामा पुगेको नेता कमल थापाले बताएका छन्। जनताले खोजेको मुद्दा पार्टीसँगै भए पनि संगठन र कार्यकर्तामा उत्साह हराउँदै गएको उनको टिप्पणी छ।

वीरगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअध्यक्ष थापाले राप्रपाको अहिलेको अवस्थालाई संगठनात्मक संकटका रूपमा चित्रण गरे। उनका अनुसार पार्टी चुनावमा हारेर मात्रै कमजोर भएको होइन, भित्रैबाट संगठन खस्किँदै गएको छ।

थापाले राजसंस्थाप्रति जनताको आकर्षण बढेको, हिन्दू राष्ट्रको माग उठिरहेको तथा भ्रष्टाचार अन्त्य, सुशासन, आर्थिक समृद्धि र रोजगारीको अपेक्षा बढेको दाबी गरे। तर यिनै विषयलाई आफ्नो राजनीतिक एजेन्डा बनाएको राप्रपा भने जनताको विश्वास जित्ने गरी अघि बढ्न नसकेको उनको भनाइ थियो।

पार्टीको अवस्था कति कमजोर छ भन्ने देखाउन उनले काठमाडौं जिल्लाकै उदाहरण प्रस्तुत गरे। विगतमा कांग्रेस, एमाले र माओवादीभन्दा बढी मत पाएको दाबी गरिएको काठमाडौंमा अहिले कार्यसमिति बनाउनसमेत पर्याप्त सदस्य जुट्न नसकेको उनले बताए। निर्विरोध चयन हुन सक्ने अवस्था हुँदासमेत सदस्य अभाव हुनु संगठनका लागि गम्भीर संकेत भएको उनको टिप्पणी थियो।

आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै थापाले उम्मेदवार खोज्नै कठिन हुने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरे। उनका अनुसार नेता तथा कार्यकर्तामा जिम्मेवारी लिन चाहने उत्साह घटेको छ। यही प्रवृत्ति कायम रहे पार्टीले जनतामाझ आफ्नो एजेन्डा स्थापित गर्न झन् कठिनाइ भोग्नुपर्नेछ।

तर थापाले राप्रपाको भविष्य सकिएको निष्कर्ष भने निकालेनन्। कार्यकर्ताको मनोबल उकास्न सके पार्टीलाई फेरि उठाउन सकिने उनको विश्वास छ। उनले नयाँ पुस्ताले समेत हिन्दू राष्ट्र र राजसंस्थाको मुद्दालाई अघि बढाउने विश्वास व्यक्त गरे।

राप्रपालाई पुनर्जीवित गर्न आगामी महाधिवेशनबाट स्पष्ट दृष्टिकोण र दृढ इच्छाशक्ति भएको नेतृत्व छान्नुपर्नेमा पनि उनले जोड दिए। पार्टीमा आफूलाई सर्वेसर्वा ठान्ने र विरोध गर्नेहरूलाई ठाउँ नदिने प्रवृत्ति रहेसम्म संगठन बलियो बन्न नसक्ने उनको भनाइ थियो।

थापाले नयाँ दलले छोटो समयमै ठूलो चुनावी सफलता हासिल गर्न सक्ने उदाहरण दिँदै राप्रपाले पनि आफ्ना मुद्दा जनतासम्म प्रभावकारी रूपमा पुर्‍याउन सके उल्लेख्य सफलता प्राप्त गर्न सक्ने दाबी गरे। अब पार्टीले भाषणभन्दा संगठन सुधार, कार्यकर्ता परिचालन र नेतृत्वको कार्यशैली परिवर्तनमा ध्यान दिनुपर्ने उनको सन्देश थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *