गण्डकीमा रास्वपाबाट गाउँपालिका अध्यक्ष बन्न १९७ जनाको आवेदन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गण्डकी प्रदेशका गाउँपालिका अध्यक्ष बन्न १९७ जनाले आवेदन दिएका छन् । पार्टीले भदौ १ गतेदेखि अनलाइन आवेदन खुला गरेको थियो ।
गण्डकीका ५८ गाउँपालिकामध्ये मनाङ र मुस्ताङबाट भने हालसम्म आवेदन परेको छैन । रास्वपा प्रदेश सभापति नवीन त्रिपाठीका अनुसार ती जिल्लामा पार्टी संगठन निर्माणकै क्रममा छ ।
गाउँपालिका अध्यक्षका आकांक्षी सबैभन्दा बढी गोरखामा ४१ जना छन् । स्याङ्जाबाट ३२, कास्कीबाट ३१, तनहुँ र पर्वतबाट २३-२३, बागलुङबाट १६, नवलपुरबाट १४, लमजुङबाट ११ र म्याग्दीबाट ६ जनाले आवेदन दिएका छन् ।
त्यस्तै, म्याग्दीका पाँच गाउँपालिकामध्ये धवलागिरि, मंगला र रघुगंगाबाट मात्रै आवेदन परेको छ । मनाङ र मुस्ताङका नौ गाउँपालिकाबाट भने कसैले इच्छा देखाएका छैनन् ।
रास्वपाले गाउँपालिका अध्यक्षसँगै नगरपालिकाका जनप्रतिनिधि बन्न इच्छुकका लागि पनि आवेदन खुला गरेको छ । नगरपालिकाका लागि असोज २९ गतेदेखि आवेदन लिन थालिएको हो ।
