मधेसका मुख्यमन्त्री यादवले पाए तेस्रोपटक विश्वासको मत
धनुषा, ६ फागुन : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँले मुख्यमन्त्री भएयता तेस्रोपटक विश्वासको मत प्राप्त गर्नुभएको हो । मुख्यमन्त्री यादवले सदनमा आज उपस्थित एक सय चार प्रदेशसभा सदस्यमध्ये ६९ मत पाउनुभएको हो ।
उहाँको विपक्षमा ३५ मत परेको छ । मुख्यमन्त्री यादवँलाई एमाले र जनमत पार्टी बाहेकका दलका प्रदेशसभा सदस्यले विश्वासको मत दिएका छन् । गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले सरकार छाड्दै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपरेको हो ।
मधेस प्रदेशसभामा एमालेका २४, कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमत पार्टीका १३, नेकपा (माओवादी केद्र) का नौ, लोकतान्त्रिक समाजवादी पार्टीका नौ, नेकपा (एकीकृत समाजवादी) का सात तथा नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रतर्फ एक एक प्रदेशसभा सदस्य रहेका छन् ।
