देश गठबन्धनबाट पीडित छः अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश गठबन्धनबाट पीडित बनेको बताएका छन् । मंगलबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनका कारण देशमा निराशा फैलिएको र विकास हुन नसकेको बताएका हुन् । उनले एमालेलाई समेत खुइल्याएर देशलाई समृद्धितर्फ लैजाने शक्ति कोही नभएको भ्रम पारेर युवामा निराशा फैलिएको बताए ।
उनले भने, ‘जनताले फालेको राजतन्त्र ल्याएर आफ्नो दुनो सोझ्याउन केही मान्छे लागेका छन्। राजसंस्था आउँदैन अब, केहीले भोट बढाउन दुनो सोझ्याउने हुन्।’ उनले नयाँ पार्टी जन्मनुको कारक पनि गठबन्धनको सरकारको असफलता रहेको बताए ।
उनले द्वन्द्वपीडितले वर्तमान सरकारबाट न्याय नपाउने बताए । उनले भने, ‘सशस्त्र द्वन्द्वका विद्रोहीका तर्फबाट पीडा दिने समूहबाट एउटा पक्षबाट प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ। अर्कातर्फ राज्यको तर्फबाट, क्रान्तिको नाममा पीडा दिने एकातिर प्रधानमन्त्री, अर्को हिंसा रोक्ने नाममा पीडा दिने शेरबहादुरजी गठबन्धनमा हुनुहुन्छ। दुवै पीडक पक्ष राज्य सञ्चालकमा छन्। दुवै पीडकको सरकार बनेको छ। पीडितहरु उनीहरुको प्राथमिकताको विषय होइन, आफैं प्राथमिकता हो।’
उनले मानव अधिकारका गम्भीर उल्लंघन गर्नेलाई सजायको दायरामा ल्याउनुपर्ने र आममाफी दिन नहुने पक्षमा एमाले रहेको बताए । ओलीले आफू सरकारमा रहँदा पनि संक्रमणकालीन न्याय टुंग्याउन पहल गर्दा प्रचण्ड र शेरबहादुर देउवाले नै नमानेको दाबी गरे।
