मेचेले प्रधानमन्त्रीलाई सोधिन्-बबिता अस्पतालको पेटीमा सुत्केरी हुँदा किन मौन ?
काठमाडौं । राष्ट्रिय सभाकी एमाले प्रमुख सचेतक रोश्नी मेचेले प्रधानमन्त्री बालेन्द्र शाहको विगतको अभिव्यक्ति र अहिले सप्तरीमा बबिता पासवानले अस्पतालको पेटीमा शिशु जन्माउनु परेको घटनालाई जोडेर आलोचना गरेकी छन् ।
आफ्नी सुत्केरी श्रीमती सवार गाडी ट्राफिक प्रहरीले रोकेको विषयमा सिंहदरबार जलाउने चेतावनी दिएका बालेन प्रधानमन्त्री बनेपछि अस्पतालको ढोकामा एउटी असहाय महिला पासवानले शिशु जन्माउनुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको मेचेको भनाइ छ ।
भदौ २५ गते सप्तरीको गजेन्द्रनारायणसिंह अस्पतालको ढोकाबाहिर सडकपेटीमा पासवानले शिशु जन्माएकी थिइन् । घटना सार्वजनिक भएपछि मेचेले सरकारको स्वास्थ्य सेवा र संवेदनशीलतामाथि प्रश्न उठाएकी हुन् ।
‘भदौ २५ गते बबिना पासवानले सप्तरीको गजेन्द्रनारायणसिंह अस्पतालको ढोका बाहिर सडकपेटीमा शिशुलाई जन्मदिएको घटना दर्दनाक र पीडादायी छ । एउटा दुरदराजको बिकट ठाउँबाट त सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरेर ल्याउने व्यवस्था भइरहँदा सुगम मानिने सप्तरीमा यस्तो नियती हुनु कसरी सम्भव भयो ?’ मेचेले प्रश्न गरेकी छन् ।
उनले प्रधानमन्त्री बालेनको अस्वाभाविक मौनताबारे पनि प्रश्न उठाइन् ।
‘कुनै समय पैसा नभएकै कारण कसैले स्वास्थ्य उपचारबाट बञ्चित हुनुपर्दैन भन्ने र ट्राफिक प्रहरीले गाडी रोक्दा सुत्केरी पत्नी चढेको भन्दै खुलेआम सिंहदरबार जलाउने धम्की दिने बालेन स्वयं प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ । तर, आज आफ्नै एउटी असाहय महिला सडकमै सुत्केरी बन्नु पर्दा पूर्णता मौन हुनुहुन्छ । यो भन्दा लज्जास्पद कुरा के हुन सक्छ ?’ उनले भनेकी छन् ।
सरकारले ‘महिला पहिला’ भन्ने नारा अघि सारे पनि व्यवहारमा महिलाले आधारभूत स्वास्थ्य सेवा पाउन नसकेको मेचेको आरोप छ ।
मेचेले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी गर्ने दाबी गरे पनि सप्तरीको घटनाले सरकार पूर्णतः असफल भएको देखिएको बताइन् ।
