यसवर्ष श्रीलङ्कामा पर्यटक आगमनको सङ्ख्या २५ लाख नाघ्ने अनुमान

विश्व

श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले इतिहासमा पहिलो पटक यस वर्ष श्रीलङ्कामा पर्यटकको सङ्ख्या २५ लाखभन्दा बढी हुनसक्ने बताएका छन् । उनले सन् २०२४ जनवरी र फेब्रुअरीमा पर्यटकको आगमनलाई ध्यानमा राखेर लक्ष्य हासिल गर्न सकिने बताए ।
उनले सन् २०२३ जनवरीमा मुलुकमा एक लाख मात्र पर्यटक आएको तुलनामा सन् २०२४ को जनवरीमा यो सङ्ख्या बढेर दुई लाख १० हजार पुगेको जानकारी दिए । उनका अनुसार फेब्रुअरीमा अहिलेसम्मको आगमन दर अझ धेरै छ ।
आधिकारिक आँकडाअनुसार सन् २०२३ फेब्रुअरीमा एक लाख सात हजार ६३९ पर्यटक आएका थिए भने सन् २०२४ को फेब्रुअरी १ देखि १८ सम्म एक लाख ३८ हजार सात सय ३६ पर्यटक आइसकेका छन् । मन्त्री साब्रीले श्रीलङ्कामा आर्थिक सङ्कट स्थिर भएको र सुधारको सङ्केत देखिन थालेको बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट