रुसी सेनामा भारतीय युवाहरू पनि भर्ना भएको खुलासा


बीबीसी । कामको प्रलोभनमा आफूलाई एजेन्टहरूले रुस बोलाएर सेनामा भर्ती गराएको भारतीय केही युवाहरूले बताएका छन् । एजेन्टहरूले सेनामा नभई हेल्पर र सुरक्षागार्डको जागिर दिने भनेर आफूहरूलाई रुस पुर्याएको उनीहरूले बताएका छन् ।
पछिल्लो समय भारतको कर्नाटक, गुजरात, महाराष्ट्र, जम्मू तथा कश्मीर र तेलङ्गानाबाट १६ जना रुस पुगेका छन् । उनीहरूलाई रुस पुर्याउने केही एजेन्टहरू भारत, यूएई र रुसमा रहेर काम गरिरहेको दाबी गरिएको छ । हेल्परको काम दिने आश्वासनमा रुस पुर्याइएका उनीहरूलाई केही दिनको लागि तालिमलगत्तै सन् २०२३ को डिसेम्बरबाट रुसी सेनामा भर्ती गरिएको परिवारका सदस्यहरूले बताएका छन् ।
रुसी सेनामा भारतीय युवाहरूलाई पुर्याउन यूएईमा बसेर काम गरिरहेको आरोप लागेका बाबा भ्लग चलाउने फैसल खानसँग बीबीसीले कुरा गरेको छ । उनले आफूले रुसी सेनाको सहयोगीको जागिर भन्ने जानकारी दिएरै युवाहरूलाई रुस पठाएको दाबी गरेका छन् । उम्मेदवारहरूलाई यो सेनामै हेल्परको जागिर हो भनेको उनले बताएका छन् । रुस पुगेका भारतीय युवाले लामो समयसम्म आफ्नो परिवारसँग सम्पर्क गर्न नसकेपछि यो कुरा बाहिर आएको थियो ।
पछिल्लो समय उनीहरूका केही भिडियोहरू पनि बाहिर आएका छन् जसमा उनीहरू हताश भएर सहयोग मागिरहेको देखिएको छ । भाइरल भएकामध्ये एउटा भिडियोमा तेलङ्गानाका दुई जनाले आफूहरूलाई झुक्क्याइएको दाबी गरेका छन् ।
भारतीय युवाहरूले रुस पुगेपछि त्यहाँका अधिकारीले तालिम लिनुअघि एउटा कागजमा हस्ताक्षर गराएको बताएका छन्। त्यो कागज रुसी भाषामा लेखिएको भए पनि आफूहरूले एजेन्टलाई विश्वास गरेर हस्ताक्षर गरेको उनीहरूले बताएका छन् ।