काठमाडौं महानगरको कामकारबाहीप्रति हस्तक्षेप गर्न सरकारलाई सांसदहरुको आग्रह
काठमाडौं । सांसदहरुले बुधबार साँझ काठमाडौंको सुन्धारामा महानगर प्रहरीले स्वरोजगार मजदुरहरुमाथि बर्बर आक्रमण गरेको घटनाको निन्दा गर्दै हस्तक्षेप गर्न संघीय सरकारलाई आग्रह गरेका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद सूर्य थापाले काठमाडौंस्थित सुन्धारामा स्वरोजगार मजदुरहरुलाई आक्रमण गरिएको भन्दै खेद प्रकट गरे । उनले घाइतेहरुको उपचार र दोषीमाथि कारबाहीको माग गरेका छन् ।
त्यसैगरी नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले काठमाडौं महानगरपालिकाको प्रहरीले फुटपाथ व्यापारीमाथि गरेको ज्यादती निन्दनीय रहेको बताएका छन् । उनले यस्ता कुरामा आवश्यकता परे संघीय सरकारले हस्तक्षेप गर्नुपर्ने बताए । उनले भने,’काठमाडौं महानगरपालिकाको प्रहरीले फुटपाथ व्यापारीमाथि गरेको ज्यादती निन्दनीय छ । यस्ता कार्य गर्ने कुरामा संघीय सरकारले आवश्यक परे हस्तक्षेप गरोस् ।’
त्यस्तै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाले ज्यादति गरेको भन्दै संघीय सरकारलाई हस्तक्षेप गर्न माग गरे । उनले काठमाडौं महानगरपालिका कुनै मेयरको मात्र नभई सबै नेपालीको भएको बताए ।
उनले भने, ‘यो काठमाडौं कुनै मेयर र प्रधानमन्त्रीको मात्र होइन । आफ्नो देशमा बसेर हरेक नेपालीलाई काम गरेर खाने अधिकार छ । काठमाडौंमा गरिव, धनी, मन्त्री, प्रधानमन्त्री सबै बस्न पाउँछ । महानगर यस्तो कामबाट पछि नहटे काठमाडौं संघर्षको मैदानमा परिणत हुन्छ ।’
त्यस्तै सांसद प्रभु साहले स्वरोजगार मजदुरमाथि काठमाडौं महानगरपालिकाले ज्यादति गरेको भन्दै संघीय सरकारलाई हस्तक्षेप गर्न आग्रह गरे । उनले कवाड संकलकलाई सम्मान गर्नुपर्नेमा अपमानित गरिएको भन्दै यो सह्य नहुने चेतावनी दिए ।
उनले कानुन अनुसार गरेको व्यवसायलाई उसको हक विपरीत काम गर्न पाइन्न । उनले महानगर प्रहरीले आफू कानुन भन्दा माथि रहेको दम्भ देखाएको बताए ।
