`

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

Nepal One HD ३१ भदौ २०८३ १८:२४
बिशेष

काठमाडौं । सरकारले धितोपत्र बजारमा सूचीकृत निकायको शेयर निसर्गबाट प्राप्त हुने लाभमा लाग्दै आएको अग्रिम करको दर घटाउने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्राकृतिक व्यक्तिका हकमा धितोपत्र विनियम बजारमा शेयर निसर्गबाट प्राप्त हुने लाभमा लाग्ने अग्रिम कर घटाउने निर्णय गरेको हो। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले करको दर घटाइएको जानकारी दिए।

नयाँ व्यवस्थाअनुसार धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हित निसर्गबाट प्राप्त लाभमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा यसअघि ७.५ प्रतिशत अग्रिम कर लाग्दै आएकोमा अब ३.५ प्रतिशत मात्र लाग्नेछ।

त्यस्तै, ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा लाग्दै आएको १० प्रतिशत अग्रिम करलाई घटाएर ५ प्रतिशत कायम गरिएको छ।

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेस भएको ‘सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली, २०८३’ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा नेपाल न्याय सेवा, न्याय समूहका राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरू खगेन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय भएको छ।

प्रशासन सेवातर्फका सहसचिव कालीप्रसाद पराजुलीलाई पनि राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

परराष्ट्र मन्त्रालयको प्रस्तावमा साउदी अरेबियामा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बिमा तथा क्षतिपूर्ति रकमसम्बन्धी कानुनी कारबाहीका लागि साउदी नागरिक कानुन व्यवसायीलाई वारेसनामा (पावर अफ अटर्नी) दिई प्रक्रिया अगाडि बढाउनेसम्बन्धी आदेश जारी गर्ने निर्णयसमेत बैठकले गरेको छ।

यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत ‘सक्रिय राहत कोष सञ्चालन कार्यविधि, २०८३’ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *