प्रधानमन्त्री दाहालले तेस्रो पटक लिए विश्वासको मत
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छन् । उनले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १५७ जना सांसदले मत दिएका हुन् । ११० जना सांसदले भने उनको विपक्षमा मत दिएका थिए । एक जना सांसद भने तटस्थ बसेका थिए ।
प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्तावमा पाएको १५७ मत प्रतिनिधिसभाको बहुमत भएको भन्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएको घोषणा गरेका थिए । फागुन अन्तिम साता कांग्रेसँगको सहकार्य तोडेर नतेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टी सम्मिलित गठबन्धन बनाएका प्रधानमन्त्री प्रचण्डलाई नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका छन् ।
नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भने उनको विपक्षमा रहे ।
