`

सहकारी प्रकरणमा लामिछानेलाई जोडेर अनावश्यक राजनीतिकरण गर्न खोजियो : प्रधानमन्त्री प्रचण्ड

Nepal One HD ६ चैत २०८० १३:३५
राजनीति

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी प्रकरणमा रवि लामिछानेलाई जोडेर अनावश्यक राजनीतिकरण गर्न खोजिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले सहकारी प्रकरणको अनुसन्धान गर्दा लामिछाने दोषी नदेखिएको भन्दै यस बिषयलाई अनावश्यक रुपमा राजनीतिकरण गर्न खोजिएको बताएका हुन् ।

हालसम्मको अनुसन्धानले लामिछाने सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा कहीकतै जोडिएको नदेखिएको उनले बताए । सहकारीबाट प्रवाह भएको भनिएको ऋण फरछ्यौट भइसकेको समेत देखिन आएकोले लामिछानेको हकमा अनुसन्धान गर्नुनपर्ने प्रहरीको निष्कर्ष रहेको उनले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले रास्वपा पार्टी फेरि सरकारमा सहभागी हुने चर्चा हुन थालेपछि र सरकारमा सहभागी भएपछि यो विषयलाई संसदको नियमित काम कारवाही प्रभावित हुने गरी उठाउनु जायज छ वा छैन भन्ने कुरा प्रतिपक्षी दलले बुझ्नुपर्ने धारणा राखेका छन् । प्रधानमन्त्री प्रचण्डले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने समेत स्पष्ट पारेका छन् । यदि अनुसन्धानबाट कैफियत देखिएमा कसैलाई पनि कारबाही गर्न कुनै पनि कुराले नरोक्ने उनले बताए । सुशासनको सङ्कल्प लिएर आफूले सरकारको नेतृत्व गरेदेखि नै ठूलाठूला भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिना लगायतका काण्डहरूको छानबिन भइरहेका उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस कार्यलाई अझै प्रभावकारी बनाइने बताए ।


प्रतिक्रिया