पूर्वराजाको लोकप्रियताबाट ठूला दल अत्तालिएः अध्यक्ष लिङ्देन
वीरगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्रको लोकप्रियता बढेको देखेर राजनीतिक दलहरु अत्तालिएका बताएका छन् ।
बुधबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले पूर्वराजाको लोकप्रियताबाट अत्तालिएर ठूला दलले दरबार हत्याकाण्डमा पूर्वराजालाई मुछ्ने गरेको बताएका हुन् ।
उनले ठूला दललाई दरबार हत्याकाण्डको छानबिन गर्न चुनौती दिए । उनले भने, ‘दरबार हत्याकाण्डसँग जोडेर पूर्वराजालाई धम्क्याउने र बदनाम गर्न खोज्नेहरुले हिम्मत छ भने छानबिन आयोग गठन गरेर सत्यतथ्य सार्वजनिक गरुन् । पटक पटक यिनै दल सरकारमा छन् । छानबिन गरेर किन राजालाई जेल हाल्न सकेनन् त?’
अध्यक्ष लिङ्देनले नेपालमा गणतन्त्र र संघीयताको खारेजी, राजतन्त्र र हिन्दू राष्ट्रको पुनर्स्थापना नेपाली जनताकै बलमा हुनुपर्ने राप्रपाको मान्यता रहेको बताए। यसमा कुनैपनि विदेशी शक्तिको हस्तक्षेप राप्रपालाई स्वीकार्य नहुने उनले बताए ।
