महरा पक्राउप्रति बाबुरामः आफूले पालेको खसी काट्नु कुन ठूलो कुरा हो ?
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले माओवादीमा समाहित हुन चाहने आफ्नो पार्टीका नेताहरूलाई भित्राउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।
पार्टीका निर्णयहरु सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले भित्रिने निर्णय गरिसकेकाहरूलाई चाँडो पार्टीमा भित्राउन आग्रह गरेका हुन् । उनले भने, ‘मैले त प्रचण्डजीलाई पनि म्यासेज पठाएको छु । उहाँहरूले मरिहत्ते गरेपछि भित्राउनुस्, किन रडाको मच्याएको भनेर।’
उनले आफूहरूसँग पार्टीको ७० प्रतिशत बहुमत रहेको दाबी गरे । अर्काे पक्षसँग ४० प्रतिशत नपुगेका कारण हस्ताक्षर संकलन गरिरहेको उनले बताए । ४० प्रतिशत नपुगे पनि माओवादीमा जानेहरूको पद नखोस्ने भट्टराईले बताए । ‘मैले साथीहरूलाई पनि भनेको छु, तपाईंहरू जानुस्, तपाईंहरूको सांसद पद खोस्न मुद्दा मामिला गर्दैनौँ ।’
भट्टराईले आफूहरू वैकल्पिक शक्ति निर्माणमा जाने र सफल भएरै छाड्ने दाबी गरे । कमजोरी सच्याएर अगाडि बढ्ने उनले बताए । फरक प्रसंगमा भट्टराईले भ्रष्टाचारको अन्त्य गर्न एउटा उच्चस्तरीय निष्पक्ष र स्वतन्त्र अंग बनाउनुपर्ने बताए ।
उनले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको पक्राउमा समेत आशंका व्यक्त गरे । उनले भने, ‘यहाँ के छ भने एउटा सत्तामा आएको छ, अर्कोलाई आरोप लगाएको छ । आफ्नालाई चोख्याउने, अरुलाई फसाउने गरेर त के हो के हो, ठेगान पनि छैन । यहाँ त साना माछा र ठूला माछा भन्छन् ।’ उनले ठूला माछाको संरक्षणमा साना माछालाई फसाइएको हुनसक्ने बताए ।
