`

सत्तारुढ दलहरु गृहमन्त्रीलाई गुमाउनुपर्छ भन्ने त्रासमा देखिएः कांग्रेस

Nepal One HD १९ चैत २०८० १२:००
राजनीति

काठमाडौं । नेपाली कांग्रेसले सरकार सहकारी ठगहरूको वकालत गरेको भन्दै आपत्ति जनाएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सहकारी ठगहरूको पक्षमा सरकारले वकालत गरिरहेको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले सत्तारुढ दलहरु गृहमन्त्रीलाई गुमाउनुपर्छ भन्ने त्रासमा रहेकाले सहकारी ठगहरुको वकालतमा लागेको बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्रीज्यू यही संसदमा आएर गृहमन्त्री रवि लामिछानेविरूद्ध परेको कानूनी हिसाबले मुद्दा गर्न अयोग्य भएको फैसला गर्नुहुन्छ, मानौं वासिङ मेसिनमा राखेर सफाचट्ट पारेर निकालेकोजस्तो गरेर यहाँ बोल्नुहुन्छ । उहाँहरु आ एम द स्टेट भन्नेमा हुनुहुन्छ । सहकारी ठगहरुको पक्षमा सरकार देखियो । आरोपित गृहमन्त्रीज्यु उजुरीलाई चिकर्टोको संज्ञा दिनुहुन्छ । दुःख लाग्छ, उजुरी त कागजमै लेख्ने होला नि, कि ताम्रपत्र, स्वर्णपत्रमा लेख्ने चलन भए त्यो पनि हामीलाई हुन्थ्यो नि सभामुख महोदय।’

उनले यस्ता घटनाले सहकारीपीडितले दिएको उजुरीको अनुसन्धान प्रक्रिया पूर्ण रूपमा प्रभावित बनेको बताइन्। उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री माथि छानबिन गर्न संसदीय समिति गठनको विकल्प नभएको बताइन् ।

नेपाली कांग्रेसले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै सदनबाट सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।


प्रतिक्रिया