रुसी सेनामा गएका नेपालीलाई फिर्ता ल्याउन सरकारले कुनै पहल नगरेको सांसद पौडेलको आरोप
काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद प्रदीप पौडेलले रुसी सेनामा गएका नेपालीलाई फिर्ता ल्याउन सरकारले कुनै पहल नगरेको बताएका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा सांसद पौडेलले सरकार रुसमा रहेका नेपालीहरुको अवस्थाको बारेमा बेखबर रहेको भन्दै ध्यानाकर्षण गराएका छन् ।
उनले भने, ‘नेपालीहरु रुसी सेनामा छन् भन्ने कुरा सरकारलाई थाहा छ । तर नेपालीहरु कति संख्यामा छन्, उनीहरुको अवस्थाको बारेमा सरकार बेखबर मात्र होइन जान्ने प्रयास पनि गरेको छैन । सरकारले अलपत्र परेका नेपालीहरुको उद्धार गर्ने कुरा त पर जाओस् कति संख्या छन भन्ने पनि पत्ता लगाउन सकेको छैन । यसमा गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु । यस्तो अवस्थामा रुसमा जान प्रतिबन्ध लगाउनुपर्ने ठाँउमा श्रम मन्त्रालयले रुस जान श्रम स्वीकृति दिने व्यवस्था गरेको छ ।’
साथै उनले काठमाडौं विश्वविद्यालयले ग्रिन हाइड्रोजन उत्पादन गरेर रिफिल गर्ने कामको परीक्षण सफलतापूर्वक सम्पन्न गरेको भन्दै राज्यले यसको लागि आवश्यक कानून, नीति, लगानी गर्ने व्यवसथा गर्नुपर्ने बताए ।
