`

‘सरकार युवालाई हरेक क्षेत्रबाट सक्षम बनाउन प्रयासरत’ – परराष्ट्रमन्त्री श्रेष्ठ

Nepal One HD २८ चैत २०८० ६:३९
प्रमुख खबर

भक्तपुर – उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकार युवा जनशक्तिलाई उद्यमशील, आत्मनिर्भर र स्वरोजगारमूलक दिशामा अघि बढाउन प्रयासरत रहेको बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषद्ले भक्तपुरको सानोठिमीस्थित एसओएसमा आयोजना गरेको चारदिने नमूना संयुक्त राष्ट्र सङ्घीय अभ्यास‐२०२४ को उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाली युवालाई हरेक क्षेत्रबाट सक्षम बनाउन सरकार लागिरहेको बताउनुभयो । उहाँले संविधानले नागरिकको मौलिक हकको रुपमा ग्यारेन्टी गरेको शिक्षा, स्वास्थ्य र रोजगारीलाई कार्यान्वयन गर्न सरकार मिहिनेतपूर्वक लागिरहेको उल्लेख गर्दै नेपाली युवालाई अन्तर्राष्ट्रिय कूटनीति र नेतृत्व विकासमा नमूना संयुक्त राष्ट्र सङ्घको अभ्यासले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले देशभरबाट अनलाइन प्रतिस्पर्धाबाट छनोटमा परेका १६ देखि २४ वर्ष उमेर समूहका दुई सय युवा सहभागी रहेको अभ्यास कार्यक्रम युवाको क्षमता विकासका लागि महत्वपूर्ण रहने बताउनुभयो । उहाँले युवालाई राष्ट्र सङ्घीय अभ्यास, दिगो विकास लक्ष्य, अन्तर्राष्ट्रिय कूटनीतिक, जलवायु परिवर्तन, मानव अधिकार, सुरक्षा परिषद्लगायतका विषयमा प्रशिक्षण दिइने बताउनुभयो ।

कार्यक्रममा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) का आवासीय प्रतिनिधि आइसाने मेडागान्गोडा लबेले युवालाई नेतृत्वदायी र प्रतिस्पर्धी भूमिकामा स्थापित गराउन यस्ता कार्यक्रम अत्यावश्यक रहेको चर्चा गर्दै युवाले राष्ट्र सङ्घीय अभ्यास बुझ्नु अत्यन्तै जरुरी रहेको बताउनुभयो ।


प्रतिक्रिया