बजेट निष्पक्ष रुपमा निर्माण हुन्छः अर्थमन्त्री पुन


काठमडौं । अर्थमन्त्री वर्षमान पुनले कसैबाट प्रभावित नभई निष्पक्ष भएर भावी पुस्तालाई समेत लाभ पुग्नेगरी बजेट बन्ने र नीति निर्माण गर्ने बताएका छन् । स्वार्थ समूह वा चिनेजानेका व्यक्तिको लाभ र हानीलाई हेरेर कुनैपनि नीतिगत तथा कानूनी सुधार नगर्ने मन्त्री पुनले बताए ।
बुधबार नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री पुनले देश बिग्रिएको वा सुध्रिएको जुन स्थितिमा रहेपनि त्यसको जिम्मा सरकारमा रहेका राजनीतिक दलको हुने उल्लेख गरे ।
उनले आफू मन्त्री रहँदासम्म जिम्मेवारीपूर्वक भावी पुस्तालाई हरेर नीति बनाउने दाबी गरे । गतवर्षको तुलनामा अर्थतन्त्रमा सुधार भएको भन्दै मन्त्री पुनले विश्व भूराजनीतिक अवस्था र शक्ति सन्तुलनमा आइरहेको फेरबदलको प्रभाव अर्थतन्त्र र राजनीतिमा परेको भन्दै उनले सो बारे गम्भीर समीक्षा गर्नुपर्ने धारणा राखे ।