विप्लवले बृहत कम्युनिष्ट एकताका लागि पहल गर्ने
काठमाडौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बृहत कम्युनिष्ट एकताका लागि पहल गर्ने निर्णय गरेको छ । हालै सम्पन्न पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उक्त निर्णयको जानकारी दिइएको हो । यस्तै, नेपाल कम्युनिस्ट पार्टीले चुनावलाई समाजवाद प्राप्तीको एउटा अभियानमा बदल्ने अवसरका रुपमा लिने निष्कर्ष निकालेको छ ।
पार्टीका महासचिव विप्लवले चुनाव सरकार सदनको कुरामात्रै नभएको भन्दै समाजवाद निर्माणका लागि यसलाई प्रयोग गर्ने जानकारी दिएका हुन् । चुनावलाई २०औं शताब्दीको संसदीय कोणबाट मात्रै हेर्न नहुने उनले बताए । उनले २१ औं शताब्दीको विशेषता, बिभिन्न प्रवृत्ति नयाँ वर्ग, विकास भएको प्रविधि ज्ञान, चरित्रबाट नापेर चुनावलाई समाजवाद प्राप्तको एउटा अभियानमा बदल्न सकिने धारणा राखे । देशलाई आफ्नै पौरख योजनाका साथ समाजवादतर्फ अघि बढाउन पार्टीलाई प्रदेश, निर्वाचन क्षेत्र, पालीका र वडासम्मको संरचनामा लैजाने निर्णय भएको उनले जानकारी दिए ।
उनले सवै परिस्थीतिलाई नियालेपछि पार्टीलाई नयाँ संगठनात्मक रुपमा लैजान लागिएको भन्दै समृद्धि र विकासका लागि जनताको नेतृत्व गर्ने र जनताका आधारभूत आवश्यकतालाई लिएर संघर्ष गर्ने र राज्यसंग कुरा गर्ने निर्णय भएको बताए । उनले अहिले पूर्वराजा ज्ञानेन्द्र शाह सामान्य नागरिक भएकाले नेपाली विशेषताको समाजवादलाई समर्थन गर्न सुझाव दिए ।
