इरानका खामेनीद्वारा अरब–इजराइल सामान्यीकरण प्रयासको आलोचना


इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीले बुधबार इजराइल र अरब मुलुकहरूको सम्बन्धलाई सामान्य बनाउनका लागि भइरहेको प्रयासले मध्यपूर्वमा सङ्कटको समाधान नगर्ने बताउनुभएको छ ।
“छिमेकी मुलुकहरूलाई उनीहरूको सम्बन्ध (इजराइलसँग) सामान्य बनाउन दबाब दिएर समस्या समाधान हुनेछ भनेर केही मानिसले सोचेका छन्”, उहाँले भन्नुभयो, “तिनीहरू गलत छन् ।”
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले सोमबार इजराइलसँगको सम्बन्धलाई सामान्य बनाए वासिङ्टनले साउदी अरबलाई सुरक्षा प्याकेज प्रस्ताव गर्न करिब तयार रहेको बताएपछि खामेनीको उक्त टिप्पणी आएको हो । साउदी अरबले इजराइलसँग सम्भावित सामान्यीकरणबारे वार्ता गरिरहेको थियो तर गाजा युद्ध सुरु भएपछि वार्तालाई रोकेको थियो ।
दक्षिणी इजराइलमा अक्टोबर ७ मा हमासको आक्रणबाट युद्ध सुरु भएको हो । इजराइली आधिकारिक आँकडाअनुसार हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ७० जनाको मृत्यु भएको थियो । हमासद्वारा सञ्चालित क्षेत्रमा स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलको जवाफी आक्रमणमा अधिकांश महिला तथा बालबालिका गरी कम्तीमा ३४ हजार पाँच सय ६८ जनाको मृत्यु भएको छ ।
इजराइल–हमास युद्धको सुरुआतपछि क्षेत्रीय तनाव बढेको छ । यसमा सिरिया, लेबनान, इराक र यमनमा इरान समर्थित समूह सामेल भएका छन् । इरानले हमासको समर्थन गर्दछ तर उसले कट्टर दुश्मन इजराइलमाथि समूहको आक्रमणमा कुनै पनि प्रत्यक्ष सहभागितालाई अस्वीकार गरेको छ ।
इरानले इजराइललाई मान्यता दिँदैन र सन् १९७९ को इस्लामिक क्रान्तिपछि उसले प्यालेस्टिनी मुद्दाको समर्थनलाई आफ्नो विदेश नीतिको केन्द्रविन्दु बनाएको छ । “प्योलेस्टिन उनीहरूलाई (प्यालेस्टिनीहरू) लाई फिर्ता गर्नुपर्छ”, खामेनीले भन्नुभयो, “उनीहरूले आफ्नै शासन, आफ्नै प्रणाली बनाउनुपर्छ, त्यसपछि त्यो प्रणालीले यहुदीहरूसँग कसरी व्यवहार गर्ने भनेर निर्णय गर्नुपर्छ ।”