`

युवा र विद्यार्थीलाई राजनीतिमा आउन बिजुक्छेको आग्रह

Nepal One HD २५ वैशाख २०८१ २१:२८
राजनीति

भक्तपुर, २५ वैशाख : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देश निर्माणका लागि युवा र विद्यार्थीलाई राजनीतिमा ल्याउनुपर्ने बताउनुभएको छ ।

आज भक्तपुर नगरपालिकाले आयोजना गरेको भक्तपुरको कला, संस्कृति, इतिहाससम्बन्धी कार्यशालामा उहाँले इतिहास, संस्कृतिका विद्यार्थीले नेपाल र विभिन्न देशको इतिहास अध्ययन गर्नुपर्ने बताउनुभयो । त्यसका लागि युवाहरु राजनीतिमा आउनुपर्ने उहाँको आग्रह थियो ।

उहाँले मानव सभ्यताको सम्पत्तिका रुपमा रहेको भक्तपुरको सांस्कृतिक सम्पदा जोगाउने अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । विदेशीसँग माग्ने प्रवृत्तिले देशलाई झन कमजोर र परनिर्भर बनाएको उहाँको भनाइ थियो । उहाँले भक्तपुरको ९९ चोक उत्खननमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइ, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका प्रमुख प्रा डा सोमप्रसाद खतिवडालगायतले भक्तपुर नेपाल मण्डलको सांस्कृतिक राजधानीको रुपमा रहँदै आएकाले मूर्त र अमूर्त सम्पदाको अथाह भण्डार रहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले जनताको सहयोगमा सम्पदा पुनःनिर्माण गर्ने नीतिअनुसार २०७४ र २०७९ को स्थानीय तहको निर्वाचनपश्चात् एक सय ५० वटाभन्दा बढी सम्पदाको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गरिसकेको नगर प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।


प्रतिक्रिया