शिक्षा क्षेत्रका तमाम समस्याको समाधान गर्न सङ्घीय शिक्षा ऐन जरुरीः मन्त्री चौधरी
काठमाडौँ, २९ वैशाखः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शिक्षा क्षेत्रका तमाम समस्याको समाधान गर्न सङ्घीय शिक्षा ऐन तत्काल आउन आवश्यक रहेको बताउनुभएको छ । तीनकुनेस्थित एप्पल इन्टरनेशनल स्कुलले आज आयोजना गरेको वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।
विद्यालय शिक्षण सिकाइको मन्दिर भएको भन्दै मन्त्री चौधरीले बालबालिका केन्द्रित शिक्षण सिकाइ अपनाउन आग्रह गर्नुभयो । संविधानले शिक्षा क्षेत्र स्थानीयलाई दिएको भन्दै उहाँले अबको शिक्षण सिकाइ बालबालिकामैत्री हुनुपर्ने बताउनुभयो ।
“संविधानमा शिक्षालाई स्थानीय तहमा दिइएको छ । केही कुराहरू स्थानीय तहअनुसार फरक–फरक व्यवस्था गर्न पाउने व्यवस्था छ”, उहाँले भन्नुभयो, “राज्यको संरचनाअनुसार तीनै तहमा शिक्षाका केही विषय एकखालको हुनुपर्छ । पाठ्यक्रम पनि जीवनोपयोगी, अहिलेको प्रविधिअनुसार हुनुपर्छ । विद्यालय, माध्यमिक विद्यालय स्थानीय तहमै हुने भएकाले केही अधिकार स्थानीय तहमै गएको छ । बालबालिका केन्द्रित शिक्षण सिकाइ हुन आवश्यक छ ।”
शिक्षण सिकाइ अहिलेको समयसापेक्ष र बालबालिका केन्द्रित बनाउन विद्यालय, परिवार, राज्य सबैको भूमिका रहने उहाँले बताउनुभयो । “शिक्षण सिकाइ बालबालिका केन्द्रित हुनुपर्छ । पाठ्यक्रम त्यसअनुसार बनाउनुपर्छ । त्यसपछि मात्रै बच्चाले राम्रोसँग सिक्न सक्छ । अब हामीले जीवनोपयोगी शिक्षा पनि समावेश गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “हरेक अभिभावकले शिक्षा र स्वास्थ्य दिन चाहन्छ । चाहे जस्तोसुकै आर्थिक अवस्थाको अभिभावक होस् तर उसले आफ्नो बच्चाको शिक्षा र स्वास्थ्य जसरी हुन्छ राम्रै दिन चाहन्छ । त्यसैले हामी सबैले कसरी हुन्छ बालबालिकालाई राम्रो शिक्षा दिन आवश्यक छ ।’
सरकारी विद्यालयको स्तर खस्किएको सन्दर्भमा अहिले धेरै गुनासो आएको भन्दै उहाँले विद्यालयमा राजनीतिकरण भएका कारण समस्या उत्पन्न भएको हुनसक्ने बताउनुभयो । “सरकारी विद्यालयको स्तर खस्किएको छ । शिक्षामन्त्रीले विद्यालयमा राजनीतिकरण भएका कारण समस्या भएको भन्नुभएको छ । अलिकति राजनीतिकरण बढी भएर त्यस्तो समस्या भएको पनि हुनसक्छ । सरकारी स्कुलमा केही न केही बेथिति छन् । त्यसलाई हामी सबैले सच्याउनुपर्छ ।”
बच्चालाई राम्रो शिक्षा दिलाउनका निम्ति शिक्षक, विद्यालय र परिवार सबैको महत्त्वपूर्ण भूमिका रहने भन्दै उहाँले बच्चालाई सिकाउने पहिलो विद्यालय आफ्नै घर भएकाले घरमा पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
मन्त्री चौधरीले भन्नुभयो, “तपाईँको बच्चा बन्न स्कुल परिवार पनि जिम्मेवार हुन्छ सँगै अभिभावकको पनि उत्तिकै जिम्मेवारी हुन्छ । यी दुवै कुरामा तालमेल नमिलेमा बच्चाको पढाइ राम्रो हुँदैन ।” विदेशमा आफ्नो बालबालिकालाई सुरक्षित राख्नका निम्ति ‘ट्र¥याकिङ सिस्टम’ प्रयोग गर्ने गरेको भन्दै उहाँले बालबालिकाहरूलाई त्यसरी सुरक्षित राख्न सकेमा धेरै राम्रो हुने बताउनुभयो ।
विभिन्न पक्षबाट अन्यायमा परेका, हिंसामा परेका, विभिन्न अपराधजन्य कार्यमा संलग्न भएर तथा परिबन्धमा परेका बालबालिकाको न्याय निरूपणका निम्ति छुट्टै बाल अदालतको आवश्यकता रहेको मन्त्री चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले बच्चा पनि विभिन्न माध्यमबाट प्रताडित छन् । ती सबै बालबालिकाको संरक्षण गर्दै अगाडि बढ्नुपर्ने छ । हाम्रो मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय बालअधिकार परिषद्ले यस क्षेत्रमा काम गर्दै आएको छ ।”
भोलिका दिनमा देश बनाउने अहिलेका बालबालिका भएको भन्दै मन्त्री चौधरीले अहिले संसद्मा शिक्षासँग सम्बन्धित विभिन्न विधेयकमा छलफल भइरहेको बताउनुभयो । विद्यालयका प्रिन्सिपल यमनाथ मैनालीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । त्यस अवसरमा शिक्षा क्षेत्रमा योगदान दिने विभिन्न व्यक्ति तथा शिक्षकलाई सम्मान गरिएको थियो ।
