धितोपत्र व्यवसायीको कमिसन घट्यो


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र व्यवसायीको सेवाशुल्क घटाएको छ । अर्थमन्त्रालयको स्वीकृतिपछि कमिसन घटाइएको बोर्डले जनाएको छ । “धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४३ बमोजिम अनुसूची १४ मा रहेको धितोपत्र दलाली वापत लिनसक्ने सेवा शूल्क हेरफेरका लागि स्वीकृति प्रदान भई आएकोमा उक्त हेरफेर २०८१ जेठ १ गतेदेखि लागु हुने निर्णय भएको छ”, बोर्डले भनेको छ ।
यसअघि रु ५० हजारसम्मको कारोबारमा शून्य दशमलव ४० प्रतिशत सेवा शूल्क लिन पाउने व्यवस्था रहेकोमा त्यसलाई घटाएर शून्य दशमलव ३६ प्रतिशत कायम गरिएको छ । त्यस्तै, ५० हजारदेखि पाँच करोड रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३७ प्रतिशत सेवा शूल्क रहेकोमा त्यसलाई घटाएर शून्य दशमलव ३३ प्रतिशत कायम गरिएको छ ।
बोर्डका अनुसार पाँच लाखदेखि २० लाखसम्मको कारोबारमा शून्य दशमलव ३४ प्रतिशत सेवा शूल्क लाग्दै आएको त्यसलाई शून्य दशमलव ३१ प्रतिशतमा झारिएको छ । २० लाखभन्दा माथि एक करोड रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत सेवा शूल्क लाग्दै आएकोमा त्यसलाई शून्य दशमलव २७ प्रतिशतमा झारिएको छ । त्यसैगरी, एक करोडभन्दा माथिको कारोबामा शून्य दशमलव २७ प्रतिशत सेवा शूल्क लाग्दै आएकोमा शून्य दशमलव २४ प्रतिशतमा झारिएको धितोपत्र बोर्डले जनाएको छ ।