गिरीबन्धुका चिया मजदूरले पारिश्रमिक पाएनन्


झापा । विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गुहारेका छन् । गिरीबन्धु टी–स्टेटको चिया बगान र उद्योगमा हाल एक सय ७० मजदुर स्थायीरुपमा कार्यरत छन् । बिर्तामोड–६ र अर्जुनधारा–११ मा गिरीबन्धु टी–स्टेटको चिया बगान र कारखाना छ । मजदूरहरुले पारिश्रमिक उपलब्ध गराई दिन गरेको आग्रहलाई बगान सञ्चालकले बेवास्ता गरेपछि श्रम कार्यालय, विर्तामोड नगरपालिका र जिल्ला प्रशासन कार्यालय झापालाई उनीहरुले गुहारेका हुन् ।
मजदुरहरुले सोमबार बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलालाई ज्ञापन पत्र बुझाउँदै पारिश्रमिक उपलब्ध गराउन पहल गरिदिन माग गरेका छन् । नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष सईकुमार राईले २०८० फागुनदेखि चिया मजदुरले पारिश्रमिक नपाएको बताए । “महिनौंदेखि पारिश्रमिक नपाउँदा मजदूरहरुको बिचल्ली भएको छ”, उनले भने, “व्यवसायीहरुले खाद्यान्न समेत उधारो दिन छाडेका छन् ।”
कार्यरत मजदूरहरु बगानको कच्ची आवासगृहमा बस्दै आएका छन् । अतिरिक्त आयस्रोत नभएका कारण मजदूरहरु भोकमरीमा परेको विषयलाई सरकारले गम्भीर रुपमा लिन पर्ने मजदूर अगुवा नारायण दर्जीको धारणा छ ।
व्यवस्थापनले यसअघि पाक्षिक रुपमा मजदूरको पारिश्रमिक दिँदै आएको थियो । भुक्तानी रोकिए पनि मजदूरहरु नियमित कामकाजमा खटिइरहेको उनले जानकारी दिए । पारिश्रमिक माग्न जाँदा व्यवस्थापन पक्षले वेवास्ता गर्दै आएको उनको गुनासो छ ।
“पारिश्रमिक माग्न जाँदा बगान घाटामा छ भनेर व्यवस्थापन पक्षले हामीलाई रित्तै हात फर्काउने गरेको छ”, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष राई भन्छन् । “उनीहरु पैसा छैन, ताला लगाइदिन्छु, सरकारलाई बगान जिम्मा लगाउँछु भनेर त्रास देखाउँछन् ।
मजदूरहरुले जिल्ला प्रशासन कार्यालय झापा र श्रम कार्यालय भद्रपुरमा पारिश्रमिक दिलाउन पहल गरिदिन ज्ञापन पत्र बुझाइसकेका छन् । पाश्रिमिक नपाए आन्दोलनमा उत्रिन बाध्य हुने मजदूरहरुले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
गिरीबन्धु टि–स्टेटका व्यवस्थापक सन्तकुमार राईले आर्थिक सङ्कटका कारण मजदूरहरुलाई पारिश्रमिक भुक्तानी गर्न नसकेको बताए । बगान निरन्तर घाटामा गइरहेको र निकास पनि केही ननिस्किएको उनको भनाइ छ ।
श्रम कार्यालय भद्रपुरका प्रमुख सुलभ श्रेष्ठले पारिश्रमिक नपाएको गुनासो लिएर मजदूरहरु कार्यालयमा आएपछि गिरीबन्धु टी–स्टेट प्रालिलाई पत्राचार गरिएको बताए । “मजदूरहरु आउनुभएको थियो”, उहाँले भन्नुभयो, “पारिश्रमिक दिनु भनेर हामीले व्यवस्थापन पक्षलाई लिखित आग्रह गरिसकेका छौं ।”