`

कर्णालीमा अनियमित ढंगले खर्च गर्ने प्रवृत्ति, बेरुजु चार अर्ब पुग्यो

Nepal One HD १५ जेठ २०८१ १४:४८
अर्थ समाचार

कर्णाली । कर्णाली प्रदेशमा अनियमित ढङ्गले रकम खर्च गर्ने प्रवृत्ति बढेको देखिएको छ । महालेखा परीक्षकको ६१ औँ प्रतिवेदनअनुसार कर्णाली प्रदेश सरकारको बेरुजु रकम बढेको देखिएको हो । 

प्रदेश सरकार र अन्य मातहतका सरकारी कार्यालयको बेरुजु रकम करिब चार अर्ब पुगेको छ । प्रतिवेदनअनुसार कर्णाली प्रदेश सरकार र मातहतका निकायको बेरुजु रकम रु तीन अर्ब ९४ करोड ८२ लाख ५४ हजार पुगेको हो । आर्थिक वर्ष २०७८/७९ सम्म कर्णाली प्रदेशको कूल बेरुजु रु दुई अर्ब ९८ करोड ५० लाख दुई हजार रकम रहेको थियो । 

आव २०७९/८० मा मात्रै रु ९६ करोड ७७ लाख ५२ हजार रकम बेरुजु थप भएको महालेखा परीक्षकको प्रतिवेदनमा जनाइएको छ । प्रदेश सरकार र मातहतका कार्यालय गरी एक सय ५५ कार्यालयको रु ३७ अर्ब ३३ करोड ६८ लाख ९७ हजारको लेखापरीक्षण गरिएकामा रु ९६ करोड ७७ लाख ५२ हजार बेरुजु देखिएको हो । 

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदनअनुसार सात वटा प्रदेशमध्ये कर्णालीको बेरुजु देशभरकै दोस्रो नम्बरमा रहेको बताइएको छ । कर्णालीको दुई दशमलव ५९ प्रतिशत बेरुजु रहेको छ ।


प्रतिक्रिया