बजेटले शेयर बजारमा निराशा, उच्च अंकको गिरावट


काठमाडौं । बजेट भाषणको भोलिपल्ट शेयर बजार उच्च अङ्कले घटेको छ । बुधबार शेयर बजार नेप्से २३ दशमलव ८१ अङ्कले घटेर दुई हजार ८९ दशमलव ४२ विन्दुमा झरेको छ ।
आज फाइनान्स, होटल, उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, बैंकिङ समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर झन्डै साढे नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, अपर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज बजार घटे पनि कारोबार रकम भने बढेको छ ।
आज तीन सय १४ वटा कम्पनीको एक करोड सात लाख कित्ता शेयर चार अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै पोखरा फाइनान्स र सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।