`

बजेट अनुसारकै मौद्रिक नीति आउँछः अर्थमन्त्री पुन

Nepal One HD १७ जेठ २०८१ ११:४५
अर्थ समाचार

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रम र बजेट अनुसारकै आगामी आर्थिक–मौद्रिक नीति आउने दाबी गरेका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बजेटमा समावेश भएका विषयहरुमा निजी क्षेत्र र सरोकारवालासँग गरेको अन्तरक्रियामा अर्थमन्त्री पुनले बजेटको स्वीकार्यता बढेको उल्लेख गरेका छन् ।

आफूले सार्वजनिक प्रतिवद्धता अनुसार नै बजेट ल्याएको भन्दै अर्थमन्त्री पुनले बजेटमा सबै नीति तथा कार्यक्रम समेटिएको र अब आउने मौद्रिक नीतिले पनि बजेटलाई रिफ्लेक्ट गर्ने प्रष्ट पारे ।

उनले भने, ‘यो बजेटमा नीति तथा कार्यक्रम सबैजसो रिफ्लेक्ट भएको छ । नीति कार्यक्रम र बजेटको रिफ्लेक्सन मौद्रिक नीतिमा आउँछ ।’ मन्त्री पुनले राज्य र राज्यका निकायहरु अलग अलग भएर नचल्ने उल्लेख गर्दै राष्ट्र बैंकले बजेट अनुसारकै मौद्रिक नीति ल्याउनेमा ढुक्क हुन सबैलाई आग्रह गरे । उनले भने,‘राज्यका निकायहरु निश्चित सिद्धान्तमा चल्छ । अलग अलग होइन । त्यसैले मौद्रिक नीति यसमा मिल्दोजुल्दो आउँछ, तपाइँहरु कुनै कन्फ्युजनमा रहनु जरुरी छैन ।’

उनले तथ्यमा आधारित भएर बजेट बनाइएको बताए । उनले बजेटपछि प्रतिपक्षी दललगायत अधिकांश प्रतिक्रिया सकारात्मक आएको दाबी गरे । यसवर्ष बजेट निर्माणपूर्व विभिन्न क्षेत्रका विषयमा विषयविज्ञलगायत सबै मन्त्रालयहरुले पनि धेरै छलफल गरेको उल्लेख गर्दै उनले त्यहाँबाट प्राप्त तथ्यपरक डाटा र सरोकारवालाको सकारात्मक सुझाव तथा खबरदारीका कारण बजेट राम्रो बनेको उनले बताए ।

उनले भने, ‘हामीले सिस्टमबाट त्यसलाई चलाइराखेका हुन्छौ अर्थमन्त्रीको सोचले मात्रै काम गर्दैन । सबैको सकारात्मक, आलोचनात्मक योगदान हुन्छ । म एक्लैले राम्रो गरें भन्ने होइन कि हामी सबैले राम्रो सुझाव दिएर, अन्तरक्रिया र खबरदारी गरेको वस्तुगत रुपमा गरेछौं भन्ने कुराको प्रमाणको रुपमा यो बजेटको समर्थन र स्वीकार्यतालाई मैंले लिएको छु ।’


प्रतिक्रिया