`

बजेटमा समेटिएको हरेक क्षेत्रमा निजी क्षेत्रलाई समावेश गर्ने विषय स्वागतयोग्यः अध्यक्ष ढकाल

Nepal One HD १७ जेठ २०८१ ११:५०
अर्थ समाचार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले बजेटको मार्गनिर्देशन पूर्ण कार्यान्वयन गरेमात्र व्यवसायीको मनोबल उच्च हुने बताएका छन् ।

बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बजेटमा समावेश भएका विषयहरुमा निजी क्षेत्र र सरोकारवालासँग काठमाडौंमा गरेको अन्तरक्रियामा निजी क्षेत्रले दोस्रो चरणको आर्थिक सुधार चाहेको र त्यो बजेटमा सम्बोधन भएको उनले बताए ।

उनले बजेटमा समेटिएको हरेक क्षेत्रमा निजी क्षेत्रलाई समावेश गर्ने विषय पनि स्वागतयोग्य भएको बताए । ढकालले बजेटले निजी क्षेत्रको मागलाई समेट्दै अगाडि बढ्ने विषय राम्रो भए पनि यसको कार्यान्वयन चुनौतीपूर्ण हुने उल्लेख गर्दै यसतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

अध्यक्ष ढकालले पुराना बजेटका कतिपय कार्यक्रम र नीतिलाई बजेटमा नसमेटिनु दुःखद पक्ष भएपनि बजेटमा स–साना छरिएर रहेका पुँजीलाई लगानीमा परिणत गर्नेलगायत कार्यक्रम निजी क्षेत्रको सुझाव अनुसार नै प्राथमिकतामा परेकोमा सन्तुष्टि देखिए ।

विशेषगरी मर्जर र एक्विजिसनमा दिइएको सुविधा अहिलेको बजेटमार्फत काटिएकोमा भने ढकालले गुनासो गरे । उनले भने, ‘मर्जर र एक्विजिसनमा अगाडिको बजेटले दिएको सुविधा कतिपय ओभरसाइज्ड एजेन्सीहरुले दिएको रिपोर्टको कारणबाट आउने बजेटमा काटिएको छ । त्यसले अर्थ मन्त्रालयलाई १५/२० अर्ब संकटको बेला आउने राम्रो होला तर, त्यसले दिने सन्देश एकदमै नकारात्मक हिसाबको हुने हुनाले यसमा अर्थमन्त्रीज्यूले सुधार गर्नुहुनेछ भन्नेमा आग्रह गर्छु ।’


प्रतिक्रिया