`

कोलोम्बो प्लान परामर्श समितिको ४८औँ बैठक सम्पन्न

Nepal One HD १९ जेठ २०८१ २१:१२
समाचार

काठमाडौँ । कोलोम्बो प्लान परामर्श समितिको ४८औँ बैठक मङ्गोलियाको उलानबोटरमा आज सम्पन्न भएको छ ।बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्वकर्ता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले हाल नेपालले एकजना विदेशी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

उहाँले आगामी दिनमा नेपाली भाषा, संस्कृति, बौद्ध दर्शनजस्ता विषय अध्ययनका लागि नेपाल सरकारका तर्फबाट छात्रवृत्ति उपलब्ध गराउनेलगायत आठ प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैठकमा उपाध्यक्ष डा.श्रेष्ठले दक्षिण एसिया तथा दक्षिण पश्चिम एसिया उपक्षेत्रको समूह बैठकको अध्यक्षता गर्नुभयो ।

बैठकले कोलम्बो प्लानको वार्षिक प्रतिवेदन स्वीकृत गर्नुका साथै कोलम्बो प्लानअन्तर्गत सञ्चालित कार्यक्रमको समीक्षा गर्दै आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमबारेमा छलफल गरेको उहाँको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

पछिल्लो समय क्षमता अभिवृद्धि तथा प्राविधिक सहयोगमा केन्द्रित रहेको प्लानले लागूपदार्थविरुद्धको अभियान तथा महिला सशक्तीकरणको क्षेत्रमा समेत विशेष कार्यक्रम सञ्चालन गरिआएको छ ।सन् १९५१ मा स्थापना भएको कोलम्बो प्लानमा नेपाललगायत २८ राष्ट्र सदस्य छन् भने सो संस्थाको सचिवालय श्रीलङ्काको कोलम्बोमा छ ।


प्रतिक्रिया