विपद् न्यूनीकरणमा सामूहिक प्रयास आवश्यक : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडाले आज शुक्लागण्डकी नगरपालिका–४ मा आयोजना गरेको सवारी दुर्घटना व्यवस्थापन नमुना अभ्यास कार्यक्रममा मुख्यमन्त्री पाण्डेले विपद्का घटना रोक्न नसकिने भए पनि क्षति न्यूनीकरण गर्नेतर्फ सचेत हुनुपर्ने बताउनुभएको हो ।
मुख्यमन्त्री पाण्डेले विपद्का समयमा जहिले पनि मुख्य उद्धारकर्ताका रुपमा स्थानीयवासी रहने भएकाले स्थानीय व्यक्तिलाई उद्धार प्रक्रियाबारे जानकारी गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय व्यक्तिलाई घटनाका समयमा सही तरिकाले उद्धार गर्न सिकाउँदा जोखिम कम गर्न सकिन्छ । नमुना अभ्यासले दुर्घटनामा क्षति न्यूनीकरणका लागि ठूलो सहयोग पुग्ने विश्वास लिएका छौँ ।”
भूकम्प, बाढीपहिरो, आगलागी, दुर्घटनालगायत प्रकोपबाट विश्वमै जोखिमयुक्त मुलुकका रुपमा नेपाल रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । गण्डकी प्रदेश सरकार विपद् न्यूनीकरणका लागि प्रतिबद्ध रहेको बताउँदै नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीसँगको सहकार्यमा सम्भावित विपद्, घटना न्यूनीकरण पूर्वतयारीका लागि कार्यक्रम अगाडि बढाइएको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “प्रकोप न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम तथा तालिमको अत्यन्त महत्वपूर्ण भूमिका रहन्छ । सोहीअन्तर्गत प्रदेश सरकार सबैसँग सहकार्य गरेर अगाडि बढ्न तयार छ ।”
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंह, तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलगायतले विपद् घटना न्यूनीकरणका लागि सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।
