`

सुमन पाण्डे पाटा अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्ष निर्वाचित

Nepal One HD २५ जेठ २०८१ १९:२१
अर्थ समाचार

काठमाडौं । एक्स्प्लोर हिमालय ट्राभल एन्ड एडभेन्चरका अध्यक्ष सुमन पाण्डे प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्ष निर्वाचित भएका छन् । सन् २०२४–२०२६ अवधिको लागि अन्तर्राष्ट्रिय मुख्यालयमा उनका प्रतिद्वन्द्वी अमेरिकी
गुआमका जेराल्ड पेरेजले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध चयन भएका हुन् ।

पाटाको पाँच सदस्यीय पर्यवेक्षक बोर्डले पठाएको चुनावी नतिजालाई पाटाको शुक्रबार बसेको साधारणसभाले अनुमोदन गरेको हो । सन् १९७५ देखि सदस्य रहँदै आएको नेपालको पाटाको यो तहको जिम्मेबारीमा पहिलो पटक प्रतिनिधित्व भएको हो ।

पाण्डे यसअघि २०२० देखि २०२४ सम्म दुई कार्यकाल सचिव तथा कोषाध्यक्षको भूमिकामा थिए । सन् १९५१ मा अमेरिकाको क्यालिफोर्नियामा स्थापना भई १९९८ देखि बैंककमा मुख्यालय रहेको पाटाले एसिया तथा प्रशान्त क्षेत्रका लागि आपसी पर्यटन आदान प्रदान वा व्यापार विस्तारमा सदस्य राष्ट्रका साथ सहयोग तथा सहकार्य गर्दै आएको छ ।

१९७५ देखि पाटा सदस्य रहेको नेपालको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय बजारीकरण तथा स्तर वृद्धिमा पाटाले सक्रिय सहयोग गर्दै आउनुका साथै १९७६ मा पोखराको पर्यटकीय गुरुयोजना, २०१५ को महाभूकम्पपछि संकट निवारण तथा पर्यटन पुनरुत्थान कार्यक्रम साथै ६ पटकभन्दा बढी साहसिक पर्यटन मेला, २०१७ मा प्रथम हिमालयन ट्राभल मार्ट आयोजनामा सक्रिय सहयोग गरेको थियो ।

आफ्नो ३५ वर्ष लामो व्यावसायिक जीवनमा नेपालको ट्रेकिङ, ट्राभल, हेलिकप्टर, वायुसेवा, होटल, रेस्टुरेन्ट लगायत व्यापक विधामा संलग्न पाण्डे ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान)मा अध्यक्ष, नेपाल पर्यटन बोर्ड सञ्चालक सदस्य, एरलाइन अपरेटर एसोसिएसन अफ नेपालमा महासचिव, नेपाल पर्यटन वर्ष २०११ का कार्यकारी सदस्य, पाटा–नेपाल च्याप्टरमा अध्यक्ष भइसकेका छन् ।


प्रतिक्रिया