`

सरकारको आड र शक्तिको भरमा लाखौं सहकारी बचतकर्ताको बिचल्ली पारियोः अध्यक्ष केसी

Nepal One HD १० असार २०८१ १४:४९
अर्थ समाचार

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले सहकारी पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । सोमबार माइतीघर मण्डलामा गएर राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।

सहकारी पीडितलाई सम्बोधन गर्दै अध्यक्ष केसीले सरकारको आड र शक्तिको भरमा सहकारीको अर्बौ पैसा हिनामिना गरेर जनताको पसिनामाथि खेलेको भएको भन्दै आक्रोश पोखे ।

उनले भने, ‘सहकारीको अर्बौ हिनामिना भएको छ, त्यो सरकार बाहिरको मान्छेले भन्दा सरकारको आडमा, शक्तिको भरमा लाखौं लाख जनताको पसिनामा सहकारी ठगहरुले हिनामिना गरेका छन्।’

यसको साथै, सहकारी ऐनमा नै समस्या रहेको कारण ऐनमा संशोधन गरेर, नीति बनाएर ठगहरुलाई कडा कारबाही गर्दै जानुपर्ने पनि उनको भनाइ छ ।

उनले भने, ‘हाम्रो सहकारी ऐनमा नै समस्या छ। ४८ सालको ऐन छ, सहकारी ऐन। त्यो अधुरो पनि छ। त्यसकारण सबैभन्दा पहिलो कुरा ऐनमा संशोधन गरेर, सहकारीको नीति बनाएर ठगहरुलाई कडा कारबाही गर्दै जानुपर्छ।’

अध्यक्ष केसीले सहकारीको रकम हिनामिना गर्नेलाई प्रधानमन्त्रीले सहयोग गरेर गृहमन्त्री बनाएको आरोप समेत लगाए।


प्रतिक्रिया