`

भेनेजुएलाका विपक्षी नेताले इयुलाई विवादित मतदानबारे जानकारी दिने

Nepal One HD १३ भदौ २०८१ २०:५८
विश्व

भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेज उरुटियाले बिहीबार भेनेजुएलामा भएको विवादास्पद मतदानबारे युरोपेली सङ्घ (इयु) लाई जानकारी दिनुहुने इयुका शीर्ष कूटनीतिज्ञले बताएका छन् ।

उरुटियाले भिडियो लिङ्कमार्फत इयुका विदेशमन्त्रीहरूलाई गत महिना राष्ट्रपति निकोलस मदुरोको पुनर्निर्वाचनमा व्यापक धाँधलीले असर गरेको दाबीबारे जानकारी दिनुहुनेछ ।

“भेनेजुएलामा स्थिति गम्भीर छ, त्यसैले मैले एडमन्डोलाई आमन्त्रित गरेको छु, राष्ट्रपतिका उम्मेदवार एडमन्डोले मदुरोले निर्वाचन नजितेको नतिजा प्रस्तुत गर्नुभएको छ”, इयुका विदेश नीति प्रमुख जोसेप बोरेलले ब्रसेल्समा पत्रकारहरूसँग भन्नुभयो ।

भेनेजुएलामा ‘विपक्षी नेताहरूको अवस्थाबाट इयु ज्यादै चिन्तित’ रहेको बोरेलले बताउनुभयो । भेनेजुएलाका शक्तिशाली नेता मदुरोले गोन्जालेज उरुटियालाई पक्राउ गर्न आह्वान गर्नुभएको छ । गोन्जालेज उरुटिया जुलाई ३० को विपक्षीको जुलुसपछि सार्वजनिकरूपमा देखिनुभएको छैन ।

साथी विपक्षी नेता मारिया कोरिना मचाडो मदुरोको पुनर्निर्वाचनविरुद्ध विरोध प्रदर्शनको नेतृत्व गर्न बुधबार लुकेर बाहिर आउनुभयो । मचाडोलाई राष्ट्रपतिमा उम्मेदवारी दिनबाट रोकेपछि गोन्जालेज उरुटियाले उम्मेदवारी दिनुभएको थियो । इयुको अनौपचारिक बैठकमा कुनै निर्णयको अपेक्षा गरिएको थिएन तर बोरेलले फेरि पनि इयुका २७ सदस्य राष्ट्र मतदानको नतिजामा साझा स्थितिमा पुग्नसक्ने आफूले आशा गरेको बताउनुभयो ।

“स्पष्टरूपमा मदुरोलाई यो राष्ट्रपति निर्वाचनमा वैध विजेताका रूपम मन्यता दिन सकिँदैन भन्ने मेरो विश्वास छ भनेर मैले बैठकअघि भनेको थिएँ, तर हेरौँ, मन्त्रीहरूले के भन्नुहुन्छ”, बोरेलले भन्नुभयो ।

भेनेजुएलामा गहिरिँदै गएको राजनीतिक सङ्कटलाई लिएर इयुले यसअघि नै ‘अत्यन्त चिन्तित’ रहेको घोषणा गरिसकेको छ । मुलुकको सिएनई निर्वाचन परिषद्ले मतदान समाप्त भएको केही घन्टापछि ५२ प्रतिशत मत हासिल गरेको भन्दै मदुरोलाई विजेता घोषित गरेको थियो । सिएनईका अधिकांश सदस्य ६१ वर्षीय मदुरोप्रति बफादार छन् ।

विपक्षीको आफ्नै मतदान केन्द्रस्तरीय रेकर्डबाट ७४ वर्षीय सेवानिवृत्त कूटनीतिज्ञ गोन्जालेज उरुटियाले भारी बहुमतले जित हासिल गरेको सङ्केत प्राप्त भएको छ । धेरै ल्याटिन अमेरिकी मुलुक, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले सिएनईसँग मतदान आँकडा जारी गर्न आह्वान गरेका छन् । सिएनईले सन् २०३१ सम्म तेस्रो छ वर्षको कार्यकालका लागि मदुरोका लागि पुनर्निर्वाचित प्रमाणित गरेको छ । सिएनईले कम्प्युटर ह्याक भएकाले मतदान आँकडा जारी गर्न असमर्थ रहेको बताएको छ ।


प्रतिक्रिया