`

‘स्वास्थ्य क्षेत्र प्रदेश कर्णाली प्रदेश सरकारको प्राथमिकतामा’ : मुख्यमन्त्री कँडेल

Nepal One HD १० असोज २०८१ १८:३१
राजनीति

कर्णाली, १० असोजः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । चिङ्गाड गाउँपालिका–५ सुर्खेत अवललिङ्स्थित प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको आज उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले पहिलो प्राथमिकता राखेको स्वास्थ्य क्षेत्रमा संवेदनशील भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । “स्वास्थ्य क्षेत्र प्रत्यक्ष जनतासँग जोडिएको छ”, उहाँले भन्नुभयो, “यो क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीले थोरै कमजोरी गरे नागरिकको ज्यान खतरा हुन्छ ।”

स्वास्थ्यमा थोरै हेलचक्र्याइँले नागरिकको जीवन जोखिममा पर्नसक्ने भएकाले आफ्नो कर्तव्य र दायित्वलाई केन्द्रमा राखेर काम गर्न मुख्यमन्त्री कँडेलले स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो ।

ग्रामीण क्षेत्रमा स्वास्थ्यको भौतिक संरचना राम्रो बनेकाले यहाँका स्थानीयलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सुविधा प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

विकासका काममा तेरो र मेरो नभनेर समुदायमा रहेका सम्पूर्ण व्यक्ति एक ठाउँमा उभिन सके चाँडो र सहज रुपमा विकास गर्न सकिने भन्दै उहाँले आफ्नो गाउँठाउँलाई राम्रो बनाउन सबै मिल्नुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो जस्तो कमजोर प्रदेशमा चुनावको समयमा दलबीच प्रतिस्पर्धा गर्ने मात्र होइन, विकासका लागि सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्दछ ।”

प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटको केन्द्रमा स्वास्थ्य क्षेत्र रहेको बताउँदै उहाँले अबको केही समयमा यहाँको स्वास्थ्य क्षेत्रमा सुधारका सङ्केत देखिँदै जाने दाबी गर्नुभयो । सङ्घीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतका आयोजना प्रमुख कमलकुमार दर्लामीका अनुसार रु तीन करोड ६२ लाख नौ हजार नौ सय ५१ लागतमा प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण भएको थियो ।


प्रतिक्रिया