`

राहत कोषबाट बाढी पहिरोपीडितलाई सहयोगका लागि पहल गर्ने अध्यक्ष नेपालको प्रतिबद्धता

Nepal One HD १९ असोज २०८१ २१:३१
प्रमुख खबर

काठमाडौँ, १९ असोजः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काभ्रेको मण्डनदेउपुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारसँग भेटघाट गरी राज्यको राहत कोषबाट सहयोगका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण पहिरोमा परी ज्यान गुमाएका यहाँका सातजनाका परिवरसँग भेटघाट गरी उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष नेपालले बाढीपहिरोबाट क्षतिग्रस्त क्षेत्रको निरीक्षण गर्नाका साथै मृतकप्रति श्रद्धाञ्जलि तथा परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । त्यसअवसरमा उहाँले नगरपालिकाको तर्फबाट मृतकका परिवारलाई रु ५०/५० हजार आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा नगरप्रमुख टोकबहादुर वाइवाले पीडित परिवारलाई तत्काल आवश्यक खाद्यन्न, भाँडाकँुडा वितरण गर्नाका साथै दुःखको घडीमा नगरपालिकाले प्रभावित परिवारलाई सक्दो सहयोग गर्ने बताउनुभयो ।

काभ्रेमा विपद्मा परी ७५ जनाको मृत्यु हुनुका साथै विभिन्न भागमा धेरै भौतिक क्षति भएको छ । यहाँका भुम्लु, रोशी, बेथानचोक, तिमाल, चौरी गाउँँपालिकामा सवारीसाधन, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक सेवासमेत अवरुद्ध छ ।


प्रतिक्रिया