साथीको हत्या अभियोगमा सिरहामा पाँच जना पक्राउ


सिरहा । साथीको हत्या गरेको अभियोगमा प्रहरीले सिरहामा ५ जनालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–१३ का २१ वर्षीय कृष्णकुमार महराको हत्या अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१३, डंगराहा टोलका २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेद रहेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार असोज २७ गते राति कृष्ण र रोहित सुखिपुर नगरपालिका–१०, शिवचौकमा दुर्गा पूजाको मेलामा गएका थिए । त्यहाँ उनीहरूका अन्य साथीहरू भेट भएका थिए ।
उनीहरु सबैले नसालु पदार्थ सेवन गर्ने योजना बनाउँदै मेला स्थलभन्दा पूर्वतिरको खोलानजिक गएका थिए । त्यहाँ उनीहरूले गाँजा र लागुऔषध नाईट्राभेट ट्याबलेट सेवन गरे ।
त्यसैक्रममा कृष्णले आफूले चिनेकी एक केटी साथीलाई भेट्न बोलाउने योजना सुनाए । अन्य साथीहरूले पनि ती महिलासँग भेट्ने इच्छा व्यक्त गरेपछि कृष्णले अस्वीकार गरेका थिए ।
त्यसपछि उनीहरुबीच विवाद बढ्यो र रिसको आवेगमा उनीहरुले हत्या योजना बनाए । पाँचैजनाले कृष्णलाई चारतैतिरबाट घेरा हालेर धारिलो कैंचीले घाँटी र पेटमा प्रहार गरी निर्ममतापूर्वक हत्या गरेका प्रहरीले जनाएको छ ।
महराको शव सुखीपुल नगरपालिका १० स्थित गागन खोलाको किनारमा शरीरको कम्मरभन्दा माथिको भाग बालुवाले छोपेको अवस्थामा असोज २८ गते साँझ फेला परेको थियो । त्यसपछि प्रहरीले अनुसन्धान गर्दा उनीहरु पक्राउ परेका हुन् ।