भारतलाई हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा


काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलादेशले भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
बंगलादेश र भारतबीचको खेलमा सबै गोल पहिलो हाफमा भएका थिए । बंगलादेशका लागि तोहुरा खातुनले २ गोल गर्दा अफिला खान्दाकरले एक गोल गरिन् ।
भारतकी बाला देवीले गरेको गोल सान्त्वनामा परिणत भयो । बंगलादेशले १८औं मिनेटमा अग्रता लिएको थियो । जब कप्तान सविना खातुनको कर्नरमा भारतीय गोलरक्षकको कमजोरीको फाइदा उठाउँदै अफिदा खान्दाकरले गोल गर्दै अग्रता दिलाइन् ।
२९औं मिनेटमा बंगलादेशका लागि ऋतु पूर्णा चक्माले गरेको क्रसमा तोहुरा खातुनले गोल गर्दै अग्रता दोब्बर पारिन् । ४३औं मिनेटमा तोहुराले व्यक्तिगत दोस्रो गोल गर्दा बंगलादेश ३–० ले अघि बढेको थियो ।
४४ औं मिनेटमा भारतकी बाला देवीले गोल गर्दै अन्तर कम गरिन् । तर, दोस्रो हाफमा थप गोल नभएपछि अन्ततः बंगलादेश ३–१ को जीतका साथ समूह विजेता बन्न सफल भयो । यसैबीच, नेपाल रहेको समूह बीको खेल बिहीबार हुने छ । नेपालले बिहीबार श्रीलंकासँग खेल्दा भुटान र माल्दिभ्स आमनेसामने हुने छन् ।