`

साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट एन्फा आफैंले बिक्री गर्ने

Nepal One HD १३ कार्तिक २०८१ १६:०७
खेलकुद

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र बंगलादेशबीच बुधबार हुने साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलको टिकट आफैंले बिक्री गर्ने भएको छ ।

एन्फाले यसअघि सेमिफाइनल खेलमा टिकट बिक्रीको अधिकार पाएको माउन्ट एभरेष्ट टिकट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै अनलाइन टिकट बिक्री बन्द गरेको र माउन्ट एभरेष्टसँग सम्झौता पनि रद्द गरेको जानकारी दिएको छ ।

१५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजारभन्दा बढीलाई प्रवेश दिएको पाइएपछि एन्फाले हस्तक्षेप गरेको छ । अब टिकट बुधबार बिहान ८ बजेदेखि जावलाखेलको फुटबल मैदान, एन्फा कम्प्लेक्स र भद्रकाली आर्मी गेटबाट बिक्री हुने भएको छ ।

एन्फाले फाइनल खेलको अधिकतम १० हजार टिकट विक्री गर्ने जनाएको छ। एन्फाले एक व्यक्तिलाई भिआइपीतर्फको २ र साधारण तर्फको ५ टिकट मात्र किन्न पाउने बताएको छ ।

एन्फाका अनुसार अब फाइनलको टिकट अनलाइन टिकट बिक्री नहुने भएको छ साथै एन्फाले यसअघि अनलाइन खरिद गरेकाको पैसा फिर्ता गर्ने जनाएको छ । रंगशालामा भिआइपीतर्फको एक हजार र साधारणतर्फ ५०० रुपैयाँ टिकट दर तोकिएको छ। फाइनल खेल बुधबार साँझ ६ः३० बजेदेखि दशरथ रंगशालामा हुँदै छ।


प्रतिक्रिया