`

एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेको छः महासचिव पोखरेल

Nepal One HD ७ मंसिर २०८१ १४:५७
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेको बताएका छन् । शुक्रबार काठमाडौंको दरबारमार्गमा भएको पार्टीको जागरण सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमाले देश बनाउने अभियानमा रहेको सच्चाइलाई आम जनताले बुझ्नुपर्ने बताएका हुन् ।

उनले एमालले राष्ट्रको विकास र समृद्धिको यात्रामा जनता र राष्ट्रको हितका पक्षमा काम गर्दै आएको बताए । उनले राष्ट्रलाई संकटबाट माथि उठाउन संसदका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र एमाले एक ठाउँमा आएको बताए।

उनले सरकार मुलुकमा राजनीतिक स्थायीत्वको आधार तयार गर्दै विकास र समृद्धिको बाटो तय गरेर अगाडि बढिरहेको बेला अनेक षड्यन्त्र भइरहेको आरोप लगाए। महासचिव पोखरेलले कम्बोडियामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगानी गरेको प्रमाणित गर्ने व्यक्तिलाई जति लगानी गरिएको भनिएको छ, त्यसको दोब्बर दान दिने बताए ।

केही दिनअघि मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियाको टेलिकममा २० करोड डलर लगानी रहेको आरोप लगाएका थिए । प्रधानमन्त्रीलाई यस्तो आरोप लगाएपछि प्रसाईं अहिले प्रहरी हिरासतमा छन् ।

त्यस्तै उनले नेपालमा लोडसेडिङको अन्त्य गर्ने कामको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको दाबी गर्दै जस अरुले लिएको बताए । उनले भने, ‘दैनिक १८ घण्टा लोडसेडिङ हुन्थ्यो, केपी ओली प्रधानमन्त्री भएपछि नेपालको जलस्रोतमा देखिएका समस्या समाधान गरेर आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने योजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली रहनुभयो । तर अहिले जस अरुले लिएका छन् । यो बिडम्बना हो ।’

उनले मुलुकलाई सही दिशामा लैजान हरेक यात्रामा एमालेले पहलकदमी गर्दै आएको बताए। तैपनि पार्टीका विरुद्ध चौतर्फी घेराबन्दी आक्रमण भइरहेको उनको भनाइ छ। महासचिव पोखरेलले महाकाली सन्धीलाई अगाडि बढाउन खोज्दा पार्टीलाई बदनाम मात्रै गर्न खोजिएन विभाजन गर्ने प्रयास समेत भएको जिकिर गरे।

उनले भने,’अहिले पार्टीलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च गरिएका छन्। कहिले महाकाली सन्धीका नाममा यो पार्टीलाई विभाजित गर्न दुष्कर्म गर्न खोजियो। महाकाली सन्धी नेपालको राष्ट्रिय हितका विपक्षा थियो भने उहिल्यै खारेज भइसक्या हुन्थ्यो। महाकाली सन्धीलाई अगाडि बढाउन खोज्दा पार्टीलाई बदनाम मात्रै गर्न खोजिएन विभाजन गर्ने प्रयास भयो।’


प्रतिक्रिया