राजस्व चुहावट नियन्त्रण गर्न सशक्त र प्रभावकारी ढंगले काम गर्न निर्देशन


वीरगञ्ज (पर्सा), २० मङ्सिर : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा कृष्णहरि पुष्करले राजस्व चुहावट नियन्त्रण गर्न सशक्त र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिनुभएको छ ।
राजस्व अनुसन्धान कार्यालय पथलैया बाराले आज यहाँ आयोजना गरेको राजस्व चुहावट नियन्त्रण तथा सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रममा उहाँले बारा, पर्सा र रौतहटका प्रशासक तथा सुरक्षा निकायका प्रमुखहरुलाई समन्वयात्मक ढङ्गले काम गर्न निर्देशन दिनुभएको हो ।
‘‘सरकारले तोकेअनुसारको राजस्व सङ्कलन हुन सकिरहेको छैन । तपाईँहरुले आआफ्नो ठाउँबाट समन्वयात्मक ढंगले सशक्त काम गर्न जरुरी छ’’, उहाँले भन्नुभयो, ‘‘एउटा निकायले अर्काे निकायलाई दोषारोपण गरेर होइन । हातेमालो गरेर सरकारको लक्ष्य भेटाउने गरी काम गर्न अनुरोध गर्दछु ।’’
उहाँले सरकारी निकायले निजी क्षेत्रसँग सहकार्य र हातेमालो गरेर राजस्व बढाउनेतर्फ अग्रसर हुन अनुरोध गर्नुभयो । ‘‘निजी क्षेत्रलाई हतोत्साही ढङ्गले नभई हातेमालो गरेर अघि बढाउन जरुरी छ’’, उहाँले भन्नुभयो, ‘‘कतिपय धेरै खालका समस्या स्थानीयस्तरबाटै समाधान गर्र्नेतर्फ अग्रसर हुन अनुरोध गर्दछु ।’’
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष हरि गौतमले मुलुकमा अनौपचारिक कारोबार बढेकाले पनि सरकारले अपेक्षाकृत ढङ्गले राजस्व सङ्कलन गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हाम्रो राजस्व सङ्कलन गर्ने पद्धति नै सुधार गर्नुपर्ने देखिन्छ । राजस्व बढाउनका लागि भन्सारको दरबन्दी बढाउने प्रचलन छ । सीमा क्षेत्रको वस्तुको मूल्य र हाम्रो वस्तुको मूल्य कति अन्तर छ हेरिँदैन । जसले गर्दा राजस्व चुहावटका घटनामा वृद्धि भइरहेको छ ।’’
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले वीरगञ्ज नाकाबाट पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थ आयात क्रमशः घट्दै गइरहेको बताउनुभयो । ‘‘नेपालको राजस्व प्रणाली नै आयातमुखी छ । पछिल्लो समय आयात घटेकाले राजस्व सङ्कलनमा दबाब परिरहेको छ’’, उहाँले भन्नुभयो, ‘‘सबै निकायले समन्वय गरेर काम गर्न आवश्यक छ ।’’ पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एक निकायले अर्काेलाई दोषारोपण गरेरभन्दा सबै निकायले हातेमालो गरेर अघि बढेको खण्डमा सरकारको लक्ष्य प्राप्ति गर्न सकिने बताउनुभयो ।
बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सबै निकायले समन्वयात्मक ढङ्गले काम गरेको खण्डमा सरकारले राखेको लक्ष्य हासिल गर्न सक्ने बताउनुभयो ।