`

कोइराला निवासबाट देउवा र शशांकले दिन खोजेको सन्देश

Nepal One HD २२ मंसिर २०८१ १२:५९
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसको कोशी प्रदेशको प्रथम सम्मेलन आजदेखि विराटनगरमा सुरु भएको छ । सम्मेलन सुरु भइरहँदा कांग्रेस नेता डा. शेखर कोइराला भने सम्मेलन बहिष्कार गर्दै चितवन लागेका छन् । तर कोइराला परिवारका अर्का नेता डा. शशांक कोइराला भने विराटनगर पुगेका छन् ।

शेखर कोइरालाको सचिवालयले शनिबार चितवन कांग्रेसका पूर्वसदस्य उद्धव लोहनीको बुवा स्व. टेकबहादुर लोहनीको शोकसभा र केन्द्रीय सदस्य दिनेश कोइरालाको बुवा स्व. भिष्मकान्त कोइरालाको शोकसभाभा सहभागी हुने जानकारी गराएको थियो । शेखर चितवन लागेपछि शशांक र पार्टी सभापति शेरबहादुर देउवा शनिबार कोइराला निवासमा चिया पिइरहेको तस्बिर सार्वजनिक भएको छ ।

केन्द्रले कुनै भेला नराख्न केन्द्रले आग्रह गर्दा पनि त्यसलाई वेवास्ता गर्दै शेखर कोइरालाले मंसिर १८ र १९ गते कोशी प्रदेश स्तरीइ पालिका सभापतिहरुको भेला गरेका थिए । भोलमा केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल, सरिता प्रसाईं, किरण यादव, राजिव कोइराला, चन्द्रमोहन यादव र रुक्मिणी कोइराला सहभागी भएका थिए । त्यस्तै कोशी प्रदेश महामन्त्री उमेश थापा, पूर्वकेन्द्रीय सदस्यहरु गुरु घिमिरे, रामकृष्ण भट्टराई र हसन अन्सारी, जिल्ला सभापतिहरु डिगबहादुर लिम्बू–मोरङ, केदार भण्डारी–सुनसरी, विनोद बान्तवा–भोजपुर, रुपनारायण जबेगु–पाँचथर, संघीय सांसद सुनिल शर्मा, कोशी प्रदेश पूर्वमुख्यमन्त्री केदार कार्की, पुर्व जिल्ला सभापतिहरु–नरेन्द्र केरुङ्–पाँचथर, गोविन्द ढुङ्गाना–तेह्रथुम, बालकृष्ण थापा–भोजपुर, गोमा केसी–ओखलढुंगा, महानगरपालिका सभापतिहरु निलकाजी शाक्य–काठमाडौ, सुरेन्द्रमान बिजुक्छे–पोखरा, सुवानन्द धाख्वा–ललितपुर, मणिन्द्रराज नेपाली–बिरगंज र दीपक चापागाईं–विराटनगर थिए ।

तर कोइराला पक्षको भेलमा महामन्त्री गगन थापा थिएनन् । तर आजको सम्मेलनमा सहभागी हुन उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेताहरु विराटनगर पुगेका छन् । एउटै समूहमा रहेका गगन र शेखर एकैठाउँमा देखिन छाडेपछि आगामी महाधिवेशनमा समेत दुई उनीहरुबीचनै प्रतिस्पर्धा गर्ने त होइनन् भन्ने अनुमान गर्न थालिएको छ ।

त्यस्तै शशांकले पनि शेखरको साथ छाडेको अनुमानसमेत गर्न थालिएको छ । बेलाबेला सुजाता, शशांक र शेखर सँगै बसेको फोटो सार्वजनिक गरेर कोइराला परिवारको साथ आफूलाई रहेको सन्देश दिने शेखर परिवारबाट समेत एक्लिएका त होइनन् ? सबैको चासोको विषय बनेको छ ।


प्रतिक्रिया