`

समलिङ्गी विवाह दर्ता गर्ने सर्वोच्चको अन्तरिम आदेशविरुद्ध युवराज सफलले गरे रिट दर्ता

Nepal One HD २३ मंसिर २०८१ १२:१५
प्रमुख खबर

काठमाडौं । समलिंगी विवाह दर्ता गर्न यसअघि सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्धमा रिट दर्ता भएको छ । युवराज सफलको रिट यसअघि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो । त्यसपछि सफल दरपीठविरुद्ध इजलास पुगेका थिए । सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो । इजलासको आदेशपछि सफलले आइतबार रिट दर्ता गरेका छन् । रिटको पेसी मंसिर २५ गतेलाई तोकिएको सफलले जानकारी दिएका छन् ।

गतवर्ष सर्वोच्च अदालतले समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले समलिंगी विवाह गर्ने जोडीहरुले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गरिदिन आवश्यक व्यवस्था गरिदिन अन्तरिम आदेश जारी गरेको थियो ।

समलिंगी विवाह दर्ता गर्न नेपालको कानुन बाधक रहेको भन्दै ब्लु डायमन्ड सोसाइटीको तर्फबाट अध्यक्ष पिंकी गुरुङसहित ७ जनाले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

उनीहरुले विवाह दर्तासम्बन्धी मुलुकी देवानी संहिता २०७४ मा रहेको व्यवस्था संशोधनको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमेतलाई विपक्षी बनाई रिट दिएका थिए ।


प्रतिक्रिया