नेता भीम रावल एमाले पार्टीबाट निस्काशित


काठमाडौँ, १० पुस : नेकपा (एमाले)ले पार्टीका नेता भीम रावललाई पार्टीबाट निस्काशन गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज सम्पन्न सचिवालय बैठकले पार्टीका केन्द्रीय सल्लाहकार रहनुभएका रावललाई हटाउने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।उहाँले नेता रावलले सल्लाहकारको भूमिका पनि ननिभाएको पार्टीको सङ्गठित सदस्यबाट मुक्त गर्ने निर्णय गरिएको बताउनुभयो ।
“पार्टीको १०औँ महाधिवेशनमा उहाँलाई उपाध्यक्ष बस्न आग्रह गरियो । उहाँले मान्नु भएन । उपाध्यक्षमा नबसेपछि अध्यक्षको उम्मेदवार बन्नुभयो । त्यसपछि उहाँ केन्द्रीय सदस्यमा पनि नआएपछि हाम्रो व्यवस्थाअनुसार उहाँ सल्लाहकार रहनुभयो”, उपमहासचिव ज्ञवालीले भन्नुभयो, “त्यो सल्लाहकारको भूमिका पनि पूरा गर्नु भएन । र उहाँका अभिव्यक्ति पार्टीलाई बलियो बनाउनुभन्दा निरन्तर कमजोर बनाउने हिसाबले आएका हुनाले उहाँलाई सङ्गठित सदस्यबाट मुक्त गर्ने निर्णय गरिएको छ ।”
स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमिल्सेनालाई जिम्मेवारीबाट मुक्त
यस्तै पार्टीले स्थायी कमिटी सदस्य विन्द्रा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनालाई छ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।
उपमहासचिव ज्ञवालीले पाण्डे र तिमिल्सेनाले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका क्रममा गरेको टिप्पणीमा सोधिएको स्पष्टीकरणमा पार्टीको विधिभन्दा बाहिर गएर बोल्नु हुँदैन भनेर गल्ती स्वीकार नगरेकाले जिम्मेवारीबाट मुक्त गरिएको जानकारी दिनुभयो ।
“उहाँहरू दुवैले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका क्रममा गरेको टिप्पणीमा प्रक्रियागत सङ्गत भएन भनेर सोधिएको थियो । स्पष्टीकरणमा उहाँहरूले पार्टीको विधिभन्दा बाहिर गएर बोल्नु हुँदैन भनेर गल्ती महशुस देखिएन”, उपमहासचिव ज्ञवालीले भन्नुभयो, “त्यही भएर उहाँहरूलाई पार्टीको निर्देशनमा थप चल्न र जिम्मेवारीबाट छ महिना मुक्त गर्ने निर्णय गरिएको छ ।”