आगामी निर्वाचनमा कांग्रेसलाई ठूलो पार्टी बनाउने अभियानमा लाग्नुपर्छः सभापति देउवा


भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई ठूलो पार्टी बनाउने अभियानमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सोमबार भैरहवामा पार्टीका क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले बहुमत ल्याउन नसके पनि कांग्रेसलाई ठूलो पार्टी बनाउनुपर्ने बताएका हुन् ।
उनले निर्वाचनमा एउटामात्र दलले बहुमत ल्याउने परिस्थिति नभएकाले विगतको निर्वाचन भन्दाबढी सिट जित्नुपर्ने बताए । सभापति देउवाले पार्टीमा केही असहमति भए त्यसलाई छलफल गरेर समाधान गर्नुपर्ने र पार्टीलाई जीवन्त बनाइराख्नुपर्ने बताए । उनले अहिलेको सरकार सफल हुने समेत बताए ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सुरु भएको कार्यक्रममा देशैभरिका प्रतिनिधिसभाअन्तर्गतका १३० क्षेत्रीय सभापति, सोही सङ्ख्यामा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुख तथा एउटा मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाबाट प्रदेशसभाअन्तर्गतका क्षेत्रीय सभापति ७० जनाको सहभागिता छ ।
कार्यक्रममा पार्टीसँग जोडिएका विषय, पार्टीका महत्वपूर्ण काम, २०४६ सालपछि नेपाली कांग्रेस सरकारमा हुँदा गरेका नीतिगत सुधारका काम, मुलुकको संविधान, सङ्घीयताको कार्यान्वयन, नेपाली कांग्रेसको क्रियाशील सदस्यताको अभियान, पार्टी सङ्गठनसँग जोडिएका विषय र पार्टीको केन्द्र, प्रदेश, जिल्ला हुँदै निर्वाचन क्षेत्रसँग जोडिएका अन्तरसम्बन्धका विषयबारे प्रस्तुति रहनेछ ।
यस्तै, समसामायिक विषयवस्तुसँग जोडिएका गरी विभिन्न ६ विषयमा प्रस्तुतीकरण गरी छलफल गरिनेछ । दोस्रो दिन सातवटा समूह विभाजन गरी सहभागीले आफ्नो क्षेत्रको अनुभव, नेपाली कांग्रेस पार्टी सञ्चालनमा रहेका समस्यालगायतका बारे गहन छलफल गरी सुझाव लिने कांग्रेसले जनाएको छ ।