`

गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन निर्वाह गरेको ओलीको भूमिका सराहनायोग्यः पूर्वराष्ट्रपति भण्डारी

Nepal One HD १९ फागुन २०८१ १७:०५
प्रमुख खबर

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रभावकारी कार्यक्षमता र महत्वपूर्ण अनुभवको मूलुकले उपयोग गर्न सक्नुपर्ने बताएकी छन् ।

पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र संकल्प’ पुस्तकको सोमबार लोकार्पण गर्दै पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई अतुलनीय सक्रियता, अदम्य इच्छाशक्ति र सिर्जनशील क्षमताका धनी एक अब्बल एवं लोकप्रिय राजनेताको रुपमा चित्रण गरिन् ।

उनले ओलीले आफूलाई आस्था, अडान र निष्ठाको प्रतिमूर्तिको रुपमा उभ्याउन सफल भएको बताइन् । पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई आवश्यकताअनुसार व्यवहारमा अधिकतम लचकता अपनाएर निर्धारित लक्ष्यमा पार्टी, समाज र मुलुकलाई अग्रगतिफर्त लैजानसक्ने खुबी भएको नेता र एक कुशल रणनीतिकारको रुपमा प्रशंसा गरिन् ।

उनले राजनीतिक दलहरुले जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शतालाई गहिरोसँग आत्मसात गर्नुपर्ने बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले एमालेले बहुलवाद र बहुदलीय प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने लक्ष्य लिएको बताइन् ।

उनले एमाले अध्यक्ष ओलीले पार्टीको आन्तरिक जीवनलाई लोकतान्त्रीकरण गर्न, कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउन, गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन निर्वाह गरेको भूमिका सराहनायोग्य रहेको बताइन् ।


प्रतिक्रिया