`

मैले ज्ञानेन्द्र शाहलाई ‘राजा’ भन्दा अन्य अर्थ नलगाइदिनुः शेखर कोइराला

Nepal One HD २३ फागुन २०८१ १९:०८
प्रमुख खबर

झापा । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूले राजा नै भन्ने बताएका छन् ।

शुक्रबार झापाको बिर्तामोडमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा कोइरालाले ज्ञानेन्द्र शाहलाई आफूले राजा नै भन्ने गरेको बताएका हुन् । कोइरालाले अन्तर्राष्ट्रिय प्रचलन अनुसार एक पटक पदमा पुगेको व्यक्तिलाई ‘पूर्व’ भन्ने नगरिएको बताए ।

उनले भने, ‘हामी चाहिँ पूर्व भन्छौं। तर अमेरिकामा जानुभयो भने अघिल्ला राष्ट्रपतिहरूलाई पनि ‘मिस्टर प्रेसिडेन्ट’ नै भन्ने गरिएको छ।’ आफूले पूर्वराजा शाहलाई ‘राजा’ भन्दा अन्य अर्थ नलगाइदिन उनले आग्रह गरे ।

उनले अब मुलुकमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताए । उनले भने, फ्रान्समा राजतन्त्र सकिएको सयौं वर्ष भयो । तर त्यहाँ एउटा चिया पसल छ, त्यहाँ राजा फर्काउनुपर्छ भनेर कुरा अहिले पनि हुन्छ ।’ उनले राजाको विरोध गर्दा लोकतन्त्रवादी नहुने बताए ।

उनले भने, ‘हामीले जनतालाई कतिको सेवासुविधा दिएर खुशी पारेका छौं, त्यो महत्वपूर्ण कुरा हो । राजावादीहरूको कुरालाई प्रतिवाद गरेर होइन जनतामुखी काम गरेर मन जित्नुपर्छ।’


प्रतिक्रिया