`

प्रत्यक्ष निर्वाचित कार्यकारी र प्रदेश खारेज हुनैपर्छः अध्यक्ष लिङ्देन

Nepal One HD २४ फागुन २०८१ १५:५८
प्रमुख खबर

वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको आर्थिक अवस्था कमजोर भएकामा चिन्ता व्यक्त गरेका छन् ।

राप्रपाले शनिबार वीरगञ्जमा आयोजना गरेको जनसभामा उनले देशको आर्थिक अवस्था कमजोर बनेकामा चिन्ता व्यक्त गरेका हुन् ।

मुलुकभरबाट सङ्कलन भएको राजस्वले राष्ट्रसेवक कर्मचारीलाई तलबभत्ताको व्यवस्था गर्ननसक्ने परिस्थिति सृजना हुन लागेकामा चिन्ता व्यक्त गर्दै अध्यक्ष लिङ्देनले विदेशी दातृ निकायसँग ऋण लिनुपर्ने अवस्था उत्पन्न हुन लागेको बताए ।

एक दशक अघिसम्म मुलुकको बाह्य र आन्तरिक ऋण सात खर्बको हाराहारीमा रहेकामा हाल त्यो २६ खर्ब नाघेकामा चिन्ता व्यक्त गरे । उनले पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूले देश बर्बाद बनाएको र अब मुलुकमा राजसंस्था आवश्यक भएको सन्देश दिएको बताए ।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी, प्रदेश खारेज आफ्नो पार्टीका माग रहेको बताए । अध्यक्ष लिङ्देनले आफूहरुले चुनाव लड्ने राजा नखोजेको बताए ।

उनले भने, ‘राजा राजनीतिक दलभन्दा र भोटको राजनीतिभन्दा माथि रहने संस्था हो ।’ सभाअघि राप्रपाले वीरगञ्जमा प्रदर्शन गरेको थियो ।


प्रतिक्रिया