नेपाल बारको निर्वाचनमा कानुन व्यवसायीका तीन संगठन एकठाउँमा उभिने


काठमाडौं । कानुन व्यवसायीका तीन संगठन चैत्र २३ गते हुन गइरहेको नेपाल बार एसोशिएसनको निर्वाचनका लागि एकैठाउँमा उभिएका छन् ।
नेपाल डेमोक्रेटिक लयर्स एशोशिएसन, प्रगतिशिल तथा पेशागत कानून व्यसायी संगठन, नेपाल र राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी संगठनले विज्ञप्ति जारी गरी निर्वाचनमा एकैठाउँमा उभिने बताएका हुन् ।
तीन संगठनको संयुक्त विज्ञप्ति जारी गरी भनेका छन्, ‘सदाझैँ प्रत्येक तीन वर्षमा हुने नेपाल बार एशोशिएसनको निर्वाचन आगामी चैत्र २३ गते हुन गइरहेको सर्वविदितै छ । न्यायापालिकामा आमुल सुधार र परिवर्तन गर्नुपर्ने टड्कारो आवश्यकतालाई महसुस गर्दै, करिव दश वर्ष संवैधानिक अभ्यासको पुनरावलोकन गरी संविधान संसोधन समेत गर्नुपर्ने र नेपाल बार एशोशिएशनको नीतिगत, संरचनागत र संगठनात्मक स्वरुप समेत परिवर्तन गर्न विधान संसोधनमा अधिकतम वखतमा बलियो कार्यसमिति निर्माण गर्न सतत् उद्देश्यका साथ हामीहरु एकै ठाँउमा उभिएको कुरा सगौरव अनुरोध गर्न चाहन्छौँ ।’
उनीहरुले न्यायपालिकाको विकृति, विसंगतीको अन्त्य गर्न र न्यायपालिकाको जनअस्था अभिवृद्धि गर्नका लागि बलियो बार, बलियो प्रभाव र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने ऐतिहासिक कार्यभार पूरा गर्न, गराउन प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
बारको चुनावमा यी संगठनबाट प्रा. डा. विजयप्रसाद मिश्र अध्यक्ष र वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला महासचिवको उम्मेदवार छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘बलियो बार, बलियो प्रभाव र सशक्त भूमिकासहितको देखिने र सुनिने बारको लागि हामीले अघि सारेको उम्मेदवारहरुको सम्पूर्ण टिमलाई अमूल्य मतदान गरी अत्याधिक मतसहित विजयी गराई सेवा गर्ने मौका प्रदान गर्नुहुन विनम्रतापूर्वक अनुरोध गर्दछौँ ।’
उनीहरुले आफूहरुका उम्मेदवार सक्षम, पूर्ण व्यवसायिक र समावेशी रहेको उल्लेख गरेका छन् ।
