ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा नारी टिभीद्वारा डिजिटल वित्तीय आधारभूत शिक्षा कार्यक्रम आयोजना


काठमाडौं । डिजिटल सेवाहरूले वित्तीय व्यवस्थापन गर्ने तरिकालाई नयाँ आकार दिइरहेको युगमा, ई–बैंकिंग र व्यक्तिगत वित्तमा महिलाहरूको सशक्तीकरणका निम्ति नारी टेलिभिजले बुधबार डिजिटल वित्तीयका आधारभूत र आवश्यक सीप तथा संशाधनहरूको बिषयक कार्यक्रम आयोजना गरेको छ ।
ग्लोबल आइएमई बैंकसँग सहकार्य गरी कार्यक्रम आयोजना गरिएको हो । करिब १०० जना महिलाहरुको लागि कार्यक्रम गरिएको नारी टिभीले दोस्रो पटक गरेको हो । वित्तीय व्यवस्थापन, नारी सशक्तिकरण कार्यक्रमका अलावा महिला उद्यमशीलता प्रवद्र्धनका निमित्त यसअघि पनि कार्यक्रम गरिएको जानकारी नारी टिभीकी अध्यक्ष निकिता पौडेलले दिइन् ।
उनले भनिन्, ‘नेपालमा महिलाहरूले वित्तीय स्रोतहरूमा पहुँच र व्यवस्थापनमा अद्वितीय चुनौतीहरूको सामना गरिरहेका छन्। वित्तीय समावेशीकरण मा वृद्धि भए तापनि वित्तीय साक्षरता, डिजिटल बैंकिङ पहुँच र आर्थिक सहभागितामा अन्तर कायमै छ । यस पहलले महिलाहरूलाई उनीहरूको वित्तीय स्वतन्त्रता बढाउनका लागि तालिम, र परामर्श प्रदान गरेर यी खाडलहरूलाई कम गर्न सहयोग गर्छ ।’
कार्यक्रम मा ग्लोबल आइएमइ बैंकका Incharge Transaction Banking Sales and Business डिलन शाक्यले डिजिटल साक्षरता र जागरुकताको विषयमा छलफल गराएका थिए । त्यस्तै कार्यक्रममा नेपालमा बैंकिङ सुरक्षाको अवस्थाको विषयमासमेत छलफल भएको थियो ।
मोबाइल बैंकिङबाट घरायसी कार्यहरु बिजुलीको बिल तिर्नदेखि व्यवसायहरु कसरी गर्न सकिन्छ, सुरक्षित तरिकाले कसरी प्रयोग गर्ने लगायतमा सहजीकरण गराएका थिए । त्यस्तै ग्लोबल बैंकको सेवा अन्य बैंकको सेवा भन्दा फरक र प्रभावकारी रहेको उल्लेख गरे । मोबाइल एपहरुबाटै गर्न सकिने सुविधा, जहाजको टिकट लिन सकिने सुविधा रहेको छ ।
त्यस्तै, सुरक्षित मोबाइल बैंकिङ सम्बन्धि विभिन्न भिडियो सामग्री प्रस्तुत गरिएको थियो । उनले नेपालमा एउटा बैंकको शाखाले करिब चार हजार सात सय नब्बे जना ग्राहकलाई सेवा प्रदान गरिरहेको बताए । त्यस्तै नेपालको पचासी प्रतिशत नागरिकले मोवाइल बैंकिङ सेवाको प्रयोग गरेको बताए । उनले मोवाइल बैकिङबाट के के सेवाहरु लिन सकिन्छ भन्ने विषयमा जानकारी दिए । सहभागीहरुले बैकिङ सुरक्षा सम्बन्धि विभिन्न जिज्ञासा राखेका थिए ।
साथै कामना सेवा विकास बैंककी राधे राधे शाखा प्रमुख गमला वनले वित्तीय अनुशासन र लक्ष्यको विषयमा बताइन् । नेपालको सन्दर्भमा महिलाहरु राम्रो बचतकर्ता भएको बताइन् । घरायसी बजेट कसरी बनाउने ?किन आवश्यक छ ? वित्तिय रुपमा महिलाहरु कसरी साक्षर हुने भन्ने विषयमा छलफलसमेत भएको थियो । वित्तीय साक्षरता भनेको के हो ? वित्तिय आक्षरता किन आवश्यक छ ? पैसाको उचित व्यवस्थापन, वित्तीय लक्ष्य निर्धारण गर्ने विषयमा सहजीकरण गराए । त्यस्तै कार्यक्रममा सहभागी महिलाहरुले वित्तीय क्षेत्रमा भोगेका समस्याहरु राखेका थिए ।



