`

रवि पक्राउपछि रास्वपाले गर्यो चार निर्णय, कार्यवाहक सभापतिमा डीपी अर्याल

Nepal One HD २३ चैत २०८१ ८:१९
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले चार निर्णय गरेको छ ।

शुक्रबार राति लामिछाने घरबाटै पक्राउ परेपछि भर्चुअल माध्यमबाट बसेको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले अदालतको आदेशको सम्मान गर्न र अर्को तह र ढोकामा न्यायका लागि अघि बढ्ने निर्णय गरेको छ ।

त्यस्तै पक्राउ पुर्जी नै नलिइ प्रहरीहरू सभापतिको घर पुगेको र ‘बेडरूमभित्र बसेर’ पक्राउ पुर्जी लेखेको भन्दै त्यसको विरोध जनाउने निर्णय गरेको छ ।

रास्वपाले आज चितनवमा जनयात्रा गर्ने कार्यक्रम यसअघि नै तय भएको थियो। सो जनयात्रा कार्यक्रमलाई सभापति लामिछानेकै निर्देशनअनुसार कार्यक्रम सफल पार्ने निर्णय पनि गरेको छ।

यस्ता छन् सचिवालय बैठकका चार निर्णय

१. उच्च अदालत तुलसीपुर बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेज्यूको सम्बन्धमा जुन निर्णय गरेको छ, त्यो निर्णयलाई कानुनको एक तहको निर्णयको रूपमा बुझ्दै, पार्टी सभापति रवि लामिछानेज्यूले आफ्नो भिडियो सन्देशमा भन्नुभएझैं, अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्ने। साथै, अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने।

२. पक्राउ पुर्जी नलिएरै पक्राउ गर्न आउने कुरा मात्र होइन, सभापतिज्यूको घरमा — त्यो पनि बेडरुमभित्र बसेर — जुन किसिमले पूर्जी लेख्ने अनौठो अभ्यास प्रहरीले गर्‍यो, विधिको शासनमा त्यो क्षम्य हुन सक्दैन। नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैर-संवेदनशील र गैरकानुनी कुराको भत्सर्ना गर्ने।

३. आज चैत्र २३ गते शनिबार २ बजे भरतपुर, चितवनमा आयोजना हुन लागेको जनयात्रा शुभारम्भ सभालाई भव्य रूपमा सफल पार्ने। राज्यले विवेक गुमाएको बेला हामीले विवेक गुमाउनु हुँदैन र हामीले गर्ने सभा शान्त र सौम्य हुनुपर्छ भन्ने सभापतिको निर्देशनबमोजिम सभालाई शान्तिपूर्ण बनाउन तथा हुन सक्ने सम्भावित घुसपैठ, चलखेल तथा बिथोल्ने प्रयासहरू रोक्नका लागि सबै सदस्यहरूलाई सचेत, संयमित र गम्भीर रहन निर्देशन दिने।

४. पार्टी सभापति रवि लामिछानेले पार्टीको नेतृत्व जिम्मेवारीको लागि कार्यवाहक सभापतिमा उपसभापति डिपी अर्यालज्यूलाई तोकेकोमा त्यसलाई अनुमोदन गर्ने।


प्रतिक्रिया